धरानः इलाका प्रहरी कार्यालय धरानले नेपाल स्काउट सुनसरीसँग अन्तरक्रिया गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानमा सम्पन्न कार्यक्रम समुदाय– प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सम्पन्न भएको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालय धरानले शान्ति सुरक्षाका लागि गर्ने कार्यहरुको बारेमा जानकारी गराएका थिए । इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी ढुण्डीराज न्यौपानेले स्काउट प्रमुख एवं स्काउटका रोवर रेन्जरसँग अन्तरक्रिया गरेका हुन् ।
इलाका प्रहरी कार्यालयका विभिन्न शाखाबाट गरिने कार्य तथा सेवा सुविधा बुझाउन अन्तरक्रिया गरिएको प्रहरीले जनाएको छ । कार्यक्रममा ३० जना स्काउट रोबर रेन्जर र स्काउट प्रमुखको सहभागी थिए ।
सहभागी स्काउट रोबर रेन्जरहरूले इलाका प्रहरी कार्यालय धरानका अपराध अनुसन्धान शाखा, महिला तथा बालबालिका शाखा, कानुन शाखा, प्रशासन शाखाको अवलोकन गरेका थिए । त्यस्तै, आर्थिक लेखा शाखा, बन्दी थुनुवा राख्ने ठाउँ, हात हतियार भण्डारण कक्ष लगायतको प्रत्यक्ष अवलोकन गरी त्यस शाखाले गर्ने काम र दिने सेवा सुविधाको बारेमा जानकारी लिएका थिए ।
कार्यक्रममा छोटो समयमा धेरै कुरा सिक्न सकेको नेपाल स्काउट सुनसरीका जिल्ला समन्वय आयुक्त लक्ष्मण राईले बताए । ‘हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने नाराका साथ समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालित छ ।