उर्लाबारीः ६० वर्ष उमेर पार भएका भारतको आसाम घर बताउने छोर्जे शेर्पा यतिबेला उर्लाबारीमा सहाराविहीन अवस्थामा अलपत्र बनेका छन् ।

आफूलाई लामा भएको बताउने उनको केही दिन अघिदेखि दुवै खुट्टा चल्न छाडेको हो । राम्रोसँग बोल्न समेत नसक्ने शेर्पालाई स्थानीयले खानपानको व्यवस्था गर्दै आएका छन् । उनले आसाममा भाइ बस्ने गरेको बताएका छन् । तर उनी लामो समयदेखि परिवारको सम्पर्कमा छैनन् । उनी नेपालमै बस्दै आएको लामो समय भएको जानकारहरू बताउँछन् ।

आफू लामा भएका कारण विवाह नगरेको पनि उनले खुलाए । नेपालमै बस्ने इच्छा भएकाले यतै बस्दै आएका उनले आफ्नो उपचारको लागि पहल गरिदिन आग्रह गरेका छन् । दुवै खुट्टाले काम गर्न छोडेपछि दिसापिसाब एकै ठाउँमा भएको स्थानीय गजेन्द्र आङ्देम्बेले जानकारी दिए । अत्यन्तै कष्टकर जीवन बिताउँदै आएकाले अशक्त शेर्पाको उद्दारका लागि पहल गरिदिन उनले आग्रह गरे ।

‘शेर्पा काका खुट्टा चल्दा माग्दै हिँड्नुहुन्थ्यो, अहिले त दुवै खुट्टा चल्न छोडेको छ,’ स्थानीय सानु राईले भनिन्, ‘शेर्पा काकाको अवस्था अत्यन्तै कष्टकर छ ।’