विराटनगरः विराटनगर– १४ स्थित जतुुवामा रहेको श्रीकृष्ण गौ सेवा सदनले जैविक कम्पोस्ट मलको व्यावसायिक उत्पादन शुरु गरेको छ । काठमाडौं तथा पोखरासम्म यहाँको कम्पोस्ट मलले बजार पाउन थालेपछि गौशला प्रशासन उत्साहित बनेको छ ।
पाका उमेरका गाईहरूको आश्रयस्थलको रूपमा समेत परिचित उक्त गौशालामा हाल २ सय ५ वटा गाई रहेका छन् । बायोग्यासमार्फत् करिब १ सय घरलाई सुविधा दिएको गौशालाले अहिले ग्यास प्लान्टबाट निस्किएको अर्धठोस पदार्थलाई कम्पोस्ट मलको रूपमा उत्पादन शुरु गरेको हो ।
करिब १४ वर्ष अघिदेखि नै कम्पोस्ट मल बनाउन शुरु गरे पनि ठूलो परिमाणमा व्यावसायिक उत्पादन भने बल्ल शुरु भएको गौशालाका व्यवस्थापक सन्तोष यादवले जानकारी दिए ।
२०४२ सालमा स्थापना भएको गौशालामा गाईको संरक्षण गरिन्छ । कसैले पालेको गाई बुढो भए यही गौशालामा जिम्मा दिइन्छ । आएका गाईको उचित पालनपोषणको जिम्मेवारी यहाँको ट्रस्टले लिने गरेको छ । गौशालाको थप आर्थिक सबलीकरण र माटोको क्षयीकरण रोक्ने अभियानअनुरूप कम्पोस्ट मलको ठूलो परिमाणमा उत्पादन थालेको यादवको भनाइ छ ।
यहाँ उत्पादन भएको कम्पोस्ट मल पूर्वका विभिन्न चिया तथा सुन्तलाखेतीमा पुग्ने गरेको छ । सिजनमा अधिक माग हुने कम्पोस्ट मल वर्षमा ३ लाख किलो उत्पादन हुने उनको भनाइ छ ।
व्यवस्थापन समितिका सदस्य मोहिचन्द्र यादवका अनुसार ग्यास प्लान्टबाट आएको गोबरलाई जैविक किराको सहायतामा कुहाउने काम गरिन्छ । भारतको गुजरातबाट ल्याएको जैविक किराले गोबरलाई निश्चित दिनपछि कम्पोस्ट मलमा रूपान्तरण गरिदिन्छ । जुन माटोका लागि हानिकारक हुँदैन । बरु उल्टै उर्वराशक्ति बढाउन मद्दत गरिदिन्छ ।
मललाई मेसिनको सहायताले छानी प्याकेजिङ गरेर बजार पठाउने गरिएको छ । खुद्रा १२ रुपैयाँ केजी सम्ममा बिक्री हुने गरेको कम्पोस्ट मल उत्पादन गर्ने उद्योगमा २० जनाले रोजगारीसमेत पाएका छन् ।
युरिया तथा डिएपी मलको महङ्गो हुनुको साथै सो मलमा माटोको उर्वराशक्ति नाश गर्ने खतरनाक जीवाणुुसमेत आउने हुँदा कम्पोस्ट मल प्रयोग गर्न गौशालाले किसानलाई सल्लाह दिने गरेको छ । अहिले किसान मात्र नभएर शहरमा बस्नेले पनि कौसी खेती गर्न कम्पोस्ट मल लग्ने गरेको यादवले जानकारी दिए ।
‘घरको बगैंचा तथा कौसीको गमलामा रोपेको फूलका लागि पनि कम्पोस्ट मालको माग हुने गरेको छ । त्यसैले हामीले उत्पादनको भोलम बढाएका छाैं,’ उनले भने ।