विराटनगरः विराटनगर महानगरपालिकामा पनि डेङ्गुको सङ्क्रमण देखिएपछि विषादी छर्कन थालिएको छ । थप सङ्क्रमण फैलन नदिनका लागि लामखुट्टे नियन्त्रणका लागि विषादी छर्कने काम शुरु भएको महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लजिता योञ्जनले जानकारी दिइन् ।
उनका अनुसार महानगरपालिकाभित्र डेङ्गु नियन्त्रणका लागि महानगरले वडा नम्बर १, २, ३, र १० मा हिजो विषादी छर्किएको छ । आज वडा नम्बर १, ३, ४, र १० वडामा छर्किइने र अन्य वडामा पनि दिनहुँ विषादी छर्किइने महानगरले जनाएको छ ।
डेङ्गु सङ्क्रमित लामखुट्टेले दिउँसो मात्र टोक्ने भएकाले बाध्य भएर बिहान ७ बजेदेखि ११ बजेसम्म विषादी छर्कने कार्यक्रम राखिएको पनि महानगरले जनाएको छ । महानगरले मालाथिन फगी स्प्रे गर्न थालेको जनाएको छ ।