उर्लाबारीः मोरङ क्षेत्र नं. १ का प्रदेश सांसदहरूले प्राकृतिक स्रोतको चरम उत्खनन र दोहन रोक्न माग गरेका छन ।

प्रदेशसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) ले मोरङको पूर्व उत्तर क्षेत्र ढुङ्गा, बालुवा, वन र सुन तस्करीको हब बन्दै जाँदा सरकारहरू रमिते बनेको भन्दै पशुपति शर्माको गीतमा भनिएजस्तै लुट भइरहेको दाबी गरे ।

‘मोरङको पूर्वी उत्तरी क्षेत्र ढुङ्गा, बालुवा, वन र सुन तस्करीको हब बनेको छ,’ लिम्बूले भने, ‘तर, प्रदेश सरकार, सङ्घीय सरकार र स्थानीय सरकार रमिते बनेको छ, मलाई त पशुपति शर्माले ठिकै गाएछन् कि जस्तो लागेको छ, लुट्न सके लुट कान्छा ... । नेकपाको सरकार लुट्न बनेको हो ?’

त्यस्तै, मोरङ क्षेत्र नं. १ कै सांसद उपेन्द्र घिमिरेले खोलाजन्य वस्तुको अवैध निकासी र तस्करी बढेको भन्दै प्रदेश सरकारले राजस्व मात्रै उठाएर नपुग्ने बताए । उनले प्रदेश सरकारले आवश्यक अनुगमन गरेर उत्खनन् र दोहन रोक्नुपर्ने बताउँदै आगामी आर्थिक वर्षमा लेटाङ, बेलबारीको चिसाङ खोला र केराबारीको खदम खोलाबाट खोलाजन्य वस्तु निकासीमा रोक लगाउनुपर्ने माग गरे ।