धरानः धरान उपमहानगरपालिकालाई डेंगु प्रकोप क्षेत्र घोषणा गरिएको छ । बुधबार साँझ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्य सरोकारवाला निकायको संयुक्त बैठकले धरानलाई डेंगु प्रकोप क्षेत्र घोषणा गरेको हो ।

डेङ्गु नियन्त्रणको अभियान तीव्र रूपमा चलाए पनि बिरामीको सङ्ख्या बढिरहेकाले धरानलाई डेङ्गु प्रकोप क्षेत्र घोषणा गरिएको स्वास्थ्य कार्यालय प्रमुख सागर प्रसाईले बताए । उनका अनुसार प्रदेश निर्देशनालयमा यस बारेमा जानकारी गराइएको छ भने सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा विभाग,इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, धरान उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय सुनसरीलाई पनि बोधार्थ दिइएको छ ।

डेंगुको प्रकोप उच्च बिन्दुमा रहेको भए पनि नियन्त्रण बाहिर भने नगएको डाक्टरले बताएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहायक अस्पताल निर्देशक डा. विकास शाहले अहिलेसम्म धरानमा मात्र ४ सय ७४ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको बताए । उनका अनुसार यो बुधबारसम्मको डाटा हो । १ हजार ५ सय ७४ जनाको रगत जाँच गर्दा ४ सय ७४ जनामा सङ्क्रमण देखिएको उनले बताए ।

यसअघि नै धरान उपमहानगरपालिकाको वडा नम्बर ८ र १५ लाई डेङ्गु सङ्कटग्रस्त क्षेत्र समेत घोषणा गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले ३ जना कर्मचारी २४ सै घण्टा कार्यस्थलमा खटाएको जनाएको छ । धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाको टोली तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विज्ञ टोली पनि हरेक दिन प्रभावित स्थलमै रहने गरेको छ ।