धरानः एफटीएल अनलाइन टेलिभिजनले आयोजना गरेको एसईई स्टेट १ आइडलको फाइनल जेठ ३१ गते शुक्रबार हुने भएको छ ।

आयोजक एफटीएल अनलाइन टेलिभिजनले पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार आइडलको फाइनलको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक एफटीएल अनलाइन टेलिभिजनका अध्यक्ष डम्बरकुमार तुम्बापोका अनुसार १ नम्बर प्रदेशका १४ जिल्लाबाट छानिएका उत्कृष्ट १० प्रतिस्पर्धी फाइनलमा भिड्ने छन् ।

प्रतिष्पर्धीको क्याम्पनिङ कार्यक्रम पनि सम्पन्न भइसकेको तुम्बापोले जानकारी दिए । धरान–८ स्थित धरान सभागृहमा हुने फाइनलमा मुख्य निर्णायक प्रथम नेपाली तारा दीपक लिम्बू आउने भएका छन् । अडिसन राउण्डदेखि निर्णायकको भूमिकामा रहेकी प्राश्ना शाक्य, राम धामी र विनायक राई गरी ४ जना निर्णायक रहने तुम्बापोले जानकारी दिए ।

प्रतियोगितालाई निष्पक्ष बनाउन भोटिङबाट २५ प्रतिशतमात्र मूल्याङ्कन गरेर बाँकी निर्णयको अधिकार निर्णायकलाई दिइएको उनको भनाइ थियो । कार्यक्रममा १ नम्बर प्रदेशका प्रदेश प्रमुख प्राडा गोविन्द तुम्बाहाङ प्रमुख अतिथिको रूपमा उपस्थित हुने आयोजकले जनाएको छ ।