धरानः धरान उपमहानगरपालिकाको वडा नम्बर १५ का वडाध्यक्ष नरेशकुमार इवारमले महिलाहरूको क्षमता विकासका लागि महिला समूहहरूको सक्रियता आवश्यक हुने बताएका छन् । सरकारी संस्थाले मात्र सञ्चालन गरेका कार्यक्रमबाट महिलाहरूको क्षमता विकासका कायक्रमहरू प्रभावकारी नभएको उनको अनुभव छ ।
बुधबार त्रिवेणी महिला समूहले आयोजना गरेको सात दिने उद्घोषणकला तालीमको समापन समारोहलाई सम्बोधन गर्दै वडाध्यक्ष इवारमले वडा कार्यालय र उपमहानगरले सञ्चालन गरेका यस्ता कार्यक्रम भन्दा महिला समूहले आयोजना गरेको कार्यक्रम प्रभावकारी भएको बताए ।
अब वडा कार्यलयले यस्ता कार्यक्रम सञ्चालन गर्दा महिला समूहसँग साझेदारीमा गर्ने पनि उनले बताए । उनले समाजका हरेक क्षेत्रको विकासमा महिलाको नेतृत्वदायी सहभागिता आवश्यक भएको पनि बताए ।
त्रिवेणी महिला समूहले आयोजना गरेको उद्घोषणकला तालीमको समापन समारोहमा बोल्दै विशेष अतिथि युनाइटेड गोर्खा एकेडेमीका प्रिन्सिपल पेम्बा शेर्माले निरन्तरको लगनशीलता र अभ्यासबाट सफलता प्राप्त हुने बताए ।