धरानः धरान–१५ की लक्की राईलाई कुनै कार्यक्रममा स्टेजमा गएर बोल्न निकै मुस्किल पर्ने गथ्र्यो । उनी स्टेजमा गएर बोल्ने कार्यक्रम छन् भने सकभर तर्कन खोज्थिन् । उता, कल्पना खड्कालाई अगाडि गएर बोल्न असाध्यै मन लागे पनि के बोल्ने र कसरी बोल्ने भन्ने समस्या थियो ।

धरान–१५ कै भीमा खड्का पनि विभिन्न सामाजिक संस्थामा सहभागी हुन रुचाउँछिन् तर जहाँ गए पनि अगाडि गएर बोल्नैपर्ने अवस्था आउँछ । स्टेजमा गएर कसरी बोल्ने भन्ने चिन्ताले पनि उनलाई निकै सताउने गर्छ ।

तर अहिले उनीहरूलाई कुनै पनि कार्यक्रममा अगाडि गएर बोल्न सजिलो लाग्न थालेको छ । अब स्टेजमा गएर बोल्न र आफ्ना कुरा राख्न सक्ने भएको उनीहरूको बुझाइ छ । धरान–१५ को त्रिवेणी मार्गका महिलाहरू सङ्गठित भएर त्रिवेणी महिला समूह गठन गरेर अहिले महिलाको क्षमता विकास र सामाजिक विकासमा जुटिरहेका छन् ।

‘हामी महिलाको क्षमता विकास र सामाजिक काम गर्न लागि परेका छौँ’, समूहकी अध्यक्ष विमला जबेगूले भनिन् । समूहले महिलाको क्षमता विकास गर्न एक हप्ते उद्घोषणकला सम्बन्धी तालीम सञ्चालन गरेको थियो । तालीमपश्चात समूहका सदस्यमा बोल्न सक्ने क्षमताको विकास भएको अध्यक्ष जबेगूको भनाइ छ ।
तालीममा सहभागी तथा समूहकी कोषाध्यक्ष लक्की राई अब कुनै औपचारिक कार्यक्रम सञ्चालन गर्न र आफ्नो मन्तव्य राख्न सक्ने भएको अनुभव सुनाउँछिन् । समूहकी उपाध्यक्ष कल्पना खड्काको पनि त्यस्तै अनुभव छ ।

‘मलाई पढ्न र लेख्न आउँदैन तर अब कुनै कार्यक्रममा गएर बोल्नु परो भने म पछाडि हड्दिनँ । अब बोल्न सक्ने भएकी छु,’ उनले भनिन् । समूहकी सचिव भीमा खड्का अब समूहमा वा समुदायमा आइपर्ने कार्यक्रम आफैँ सञ्चालन गर्न सक्ने क्षमता विकास भएको बताउँछिन् ।

सात दिन तालिम लिएपछि धेरै कुराको जानकारी भएको र अब औपचारिक कार्यक्रम सञ्चालन गर्न अर्को मान्छे खोज्नुपर्ने अवस्था नभएको उनले बताइन् ।

समूहकी सदस्य तथा तालीममा सहभागी मनषा राईलाई अगाडि गएर बोल्न मन लागे पनि के बोल्ने भन्ने अन्योल थियो । तर तालीम लिएपछि अब स्टेजमा गएर आफ्नो भनाइ राख्न सक्ने भएको अनुभव उनको छ ।

समूहकी रोमी सुब्बाले कहिले पनि स्टेजमा गएर बोलेकी छैनन् । उनी पनि समूहले आयोजना गरेको उद्घोषणकला सम्बन्धी तालीममा सहभागी भइन् । उनी पनि अब स्टेजमा गएर आफ्ना कुरा राख्न सक्ने भएको बताउँछिन् । तालीममा सहभागी सन्तोषी गुरुङले स्टेजमा गएर बोल्न सक्छु भन्ने आफूमा पहिले आत्मविश्वास नभए पनि तालीमले आत्मविश्वास जगाएको बताइन् ।

तालीममा सहभागी आरती लिम्बू पनि अब मान्छेसँग बोल्न र स्टेजमा गएर बोल्नुपर्दा भाग्नुपर्ने अवस्था नभएको बताउँछिन् । समूहले आयोजना गरेको सात दिने उद्घोषणकला तालीमको बुधबार समापन भएको छ । समापन समारोहमा समूहका सदस्यले नै कार्यक्रम सञ्चालन गरेका थिए ।

समूहले अब निरन्तर बोल्ने अभ्यास र अन्य व्यक्तित्व विकासका कार्यक्रम गर्ने भएको अध्यक्ष जबेगूले बताइन् । उद्घोषण तालीमको सहजीकरण सञ्चारकर्मी योगेशबाबु काफ्ले र ¥याडिकल नेपाल प्रालिका अध्यक्ष तीर्थ कार्कीले गरेका थिए ।