धरान ः धरानमा डेंगु फैलिनुको मुख्य कारण पानीको हाहाकार भएको विज्ञहरूको निष्कर्ष रहेको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरूसमेतको र्यापिड रेस्पोन्स टिम (आरआरटी) ले पानीकै कारण डेंगुु फैलिएको पुष्टि गरेको प्रदेश एकका स्वास्थ्य निर्देशक भोगेन्द्र डोटेलले जानकारी दिएका छन् ।
बिहीबार प्रदेश एकका मन्त्री सम्मिलित सर्वपक्षीय भेलाले धरानबाट सुरु भएको डेंगुुले महामारीको रूप लिइसकेको हुँदा यसको नियन्त्रमा जुट्न कति पनि ढिलाइ गर्न नहुने निचोड निकालेको छ । पानीको अतिरिक्त प्रबन्ध गर्नुपर्ने सुझाव आएपछि सञ्चित पानी नष्ट गर्ने र आवश्यक पानीको प्रबन्ध प्रदेशसरकारको सहयोगमा स्थानीय सरकारले गर्ने प्रतिबद्धता व्यक्त भएको छ । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला एवंम कानुन मन्त्री हिकमतकुमार कार्कीले पानी अभाव नै डेंगु फैलिने मुख्य कारण रहेको अनुसन्धानमा खट्ने चिकित्सकले बताइरहँदा धराने जनतालाई पानीको अभाव हुन नदिने गरी सरकारले तयारी गर्ने विश्वास दिलाए ।
‘जनताको स्वास्थ्यबारे सरकार गम्भीर छ ’, उनले भने ‘सङ्क्रमित पुरानो पानी हटाउने चिकित्सकको सुुझावग्रहण गरौँ, ट्याङ्करमा पानी बाँड्ने प्रबन्ध तुरुन्तै हुन्छ ।’ उनले डेंगुु नियन्त्रणका लागि सरकार गम्भीर भएको भन्दै धरान मात्र नभई इटहरी, विराटनगर र झापाका अन्य सहरमा पनि देखा पर्न थालिसकेको हुँदा बेलैमा नियन्त्रण गर्न सरकार लागि परेको जानकारी गराए ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले सबै नागरिक सचेत हुनुको विकल्प नभएको भन्दै सरकारले घरघरका पानी फालेर हिँड्न असम्भव रहेको टिप्पणी गरे । ‘हामी अति पनि घरानका केही वडामा अनुगमनमा पुगेका थियौँ, त्यहाँ घरमुलीलाई भन्दा अनुुगमनकर्तालाई मच्छडको लार्भा खोजेर नष्ट गर्न हतारो थियो, घर मुली आराम गरिरहेका थिए ।’ उनले भने । आफूलाई हानी नोक्सानी गर्ने भन्ने जान्दा जान्दै पनि हामी धेरै अरूको भर पर्ने अवस्थामा रहेको उनको तर्क थियो । तर, धेरै ढिला नभएको भन्दै बेलैमा सबै नागरिकहरू एक जुट हुने र चिकित्सकको रायअनुसार गर्ने हो भने मच्छडको टोकाइबाट लाग्ने डेंगुु संधैका लागि अन्त्य हुने उनको बुझाइ छ ।
धरानमा एक महिना अघि वडा नम्बर १५ बाट फैलिएको यो प्रकोपले सिङ्गो धरान प्रकोपग्रस्त भएको छ भने धरान आसपासमा पालिकामा पनि यो रोग प्रकोपको रूपमा देखिन थालेको छ । धरान उपमहानगरपापिलकाले वडा नम्बर १५ र ८ लाई डेंगुप्रकोपग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । नगर क्षेत्र भित्रका प्रकोपग्रस्त स्थानलाई विशेष निगरानीमा राखेर डेंगुु नियन्त्रणको पहल भएको धरान उपमहानगरपालिकाले जानकारी दिएको छ । नगरकी कार्यवाहक प्रमुख मञ्जु भण्डारीले नगरपालिकाको सामाथ्र्यले भ्याएसम्म प्रहार जारी राखिएको जानकारी दिइन् ।
यसको नियन्त्रक लागि प्रदेश सरकारले ८० लाख बजेट समेत छुट्ट्याइ सकेको छ । विपी प्रतिष्ठान, कोसी अञ्चल अस्पताल र मेची अञ्चल अस्पतालमा डेंगुुका निःशुल्क उपचारको व्यवस्था प्रदेश सरकारले मिलाएको छ । नियन्त्रक लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।सर्वपक्षीय भेलामा उपस्थित भएका विभिन्न व्यक्तिहरूले यो रोगले महाहारको रूप लिएको भन्दै विद्यालय, क्याम्पस जस्ता सार्वजनिक स्थानमा भिड हुने कार्यालय एक हप्ता बन्द गरेर अभियानको रूपमा जुट्ने पर्ने सुझाव दिएका छन् । धरान महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक भोलानाथ पोख्रेलले विद्यालय कलेज ७ दिनका लागि बन्द गरेरै भए पनि सबै हप्ता दिन सम्म अभियानमा नलागी नियन्त्रण गर्न समस्या भएको विचार व्यक्त गरे ।
धरानमा बुधवार राति सम्मको तथ्याङ्कअनुसार १५ सय ७४ जनामा गरिएको परीक्षणमा ४ सय ७८ जना व्यक्तिमा डेंगुु प्रभावित भाइरस पत्ता लागेको छ । दिनदिनै यो रोगको सङ्क्रमितको सङ्ख्या बढिरहेको भन्दै स्थानीय विशेष सचेत हुने पर्ने चिकित्सक विजय खनालले जानकारी दिएका छन् ।
उनका अनुसार एडिस एजिप्टाई जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने संक्रमक सरुवा रोग भएको हुँदा यो लामखुट्टे नगर तथा नगर उन्मुख क्षेत्रमा पाइन्छ । यस जातको लामखुट्टेले स–साना सफा पानी जमेका स्थानमा फुल पार्ने हुँदा पानी जम्ने टिनका डब्बाहरू, रङ्गका खाली डब्बाहरू, थोत्रा टायरहरू, अलकत्रा वा मट्टितेलकाहालि नष्ट गर्न चिकित्सकको आग्रह छ ।
्