झापाः झापाको मेचीनगर नगरपालिका वडा नम्बर–४ का बासिन्दाले वडालाई प्रविधिमैत्री बनाउन सुझाव दिएका छन् । बिहीबार वडा कार्यालय बाहुनडाँगीमा आयोजित वडाभित्र रहेका टोल विकास संस्थाको भेला तथा आगामी आर्थिक वर्षका लागि योजना सङ्कलन कार्यक्रममा सहभागी अधिकांशले स्थानीय तह जनमैत्री र प्रविधिमैत्री बन्न नसकेको गुनासो गरेका थिए ।
सहभागीले नगरका कुल १५ वटा वडामध्ये वडा नम्बर ४ विकास निर्माणका कामका लागि अग्रपङ्क्तिमा रहेको र अन्य वडाको तुलनामा उदाहरणीय काम गरेको भन्दैं सहभागीले खुशी व्यक्त गरेका थिए ।
तत्कालीन बाहुनडाँगी गाविसका अध्यक्ष एव्म नेकपाका नेता नीलकण्ठ तिवारीले अहिले प्राविधिक इष्टिमेट समयमै नहुँदा विकास निर्माणका कामले छिटो गति लिन नसकेको भन्दै नगरपालिकाले एक वडा एक प्राविधिक नीति अघि सारेर जनमैत्री बनाउनुपर्ने बताए ।
उनले नवजात शिशु मातृ मृत्युदर कम गर्न स्थानीयस्तरमा सुविधासम्पन्न प्रसूति गृहको व्यवस्था गरी पर्याप्त जनशक्ति, प्रयोगशाला स्थापनामा वडाले दीर्घकालीन योजना बनाएर अघि बढ्न सुझाव दिए । नेपाली काङ्ग्रेसका नेता सागर कार्कीले वडा नम्बर ४ ले भौतिक विकासमा निकै फड्को मारे पनि आध्यात्मिक ज्ञानको विकासमा पछि परेको भन्दै वडामा ध्यान केन्द्र, पुस्तकालय र योग शिविरलाई समेत प्राथमिकतामा राख्न माग गरेका थिए ।
बाहुनडाँगी आयुर्वेद औषधालयका कविराज उमेशकुमार साहले आयुर्वेद उपचारमा मानिसको खासै आकर्षण नभएको तथा प्रचारप्रसार अभाव देखिएकाले वडा कार्यालयले यसमा सक्रियता देखाउनुपर्ने बताए ।
बाहुनडाँगी स्वास्थ्य केन्द्रमा पर्याप्त जनशक्ति भए पनि कामको बाँडफाँडको तालमेल नमिलेका कारण समस्या भएको भन्दै स्वास्थ्यकर्मी हेम अधिकारीले यसको व्यवस्थापनमा वडा कार्यालय लाग्नुपर्नेमा जोड दिए । उनले यसभन्दा पछिका स्वास्थ्य केन्द्रको स्तरवृद्घि भएर अस्पतालको रूप ग्रहण गर्दासम्म बाहुनडाँगी स्वास्थ्य केन्द्रको आफ्नै भवन बन्न नसक्नु ज्यादै दुःखको कुरा भएको बताए ।
भेलाका सहभागीले खानेपानी, विद्युत, टेलिफोन, स्वास्थ्य शिक्षा बाटाघाटालगायतका बारेमा आ आफ्नो सुझाव प्रस्तुत गरेका थिए । कार्यक्रममा वडाभित्रका २२ वटा टोल विकास संस्थाका अध्यक्षले आआफ्नो टोलका समसामयिक समस्याका बारेमा वडा सरकारलाई जानकारी गराएका थिए ।
सबैको सुझाव सुनेर वडाध्यक्ष नवीन बरालले आफूले वडाको पदभार ग्रहण गरेपछि वडामा भए गरेका कामको विवरण प्रस्तुत गरेका थिए । उनले आफ्नो वडा वा स्थानीय ठाउँको विकास गर्नका लागि जनप्रतिनिधिको मुख मात्र ताकेर नहुने भन्दै वडामा क्रियाशील विभिन्न राजनीतिक दल, सङ्घसंस्था, नागरिक समाज, उद्योगी व्यवसायीको समेत सहकार्य आवश्यक भएको बताएका थिए ।