धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रवेश परीक्षा समिति गठनको विषयमा फेरि राजनीति शुरु भएको छ प्रतिष्ठानले एमबीबीएस र बीडीएस प्रवेश परीक्षा साउन १८ गते तथा एमडीएस र एमडीएमएसको प्रवेश परीक्षा असार २२ गते तोकेर फारम वितरण गरिसकेको छ ।

ती परीक्षाहरू सञ्चालन गर्न प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियारले प्रतिष्ठानका डिन प्राडा सीबी झाको अध्यक्षतामा प्रवेश परीक्षा समिति बनाएका थिए । तर त्यसका विरुद्धमा प्रधानमन्त्री कार्यालय, शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोग, स्वास्थ्य मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ । उजुरी परेपछि चिकित्सा शिक्षा आयोगका अध्यक्ष तथा प्रधानमन्त्रीको निर्देशनमा शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले शिक्षाध्यक्षकै अध्यक्षतामा प्रवेश परीक्षा समिति गठन गर्न प्रतिष्ठानलाई पत्राचार गरेका छन् ।

arena tv add

प्रवेश परीक्षामा अनियमितता गर्ने मनशायले शिक्षाध्यक्षलाई बाइपास गरेर डिनको अध्यक्षतामा समिति बनाइएको आरोप उपकुलपतिलाई लगाउँदै उजुरी गरिएपछि मन्त्रालयले शिक्षाध्यक्षकै अध्यक्षतामा समिति गठन गर्न निर्देशन दिएको स्रोतको भनाइ छ ।

प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियारले भने यसलाई अनावश्यक इस्यु बनाइएको बताए । प्रतिष्ठानको नियमावली र ऐनअनुसार नै मैले समिति बनाएको हो,’ रौनियारले भने, ‘त्यो समितिभन्दा माथि शिक्षाध्यक्ष नै हुनुहुन्छ । उहाँलाई समितिका सम्पूर्ण कार्यलाई नियमन र सुपरीवेक्षण गर्ने अधिकार छ ।’

शिक्षाध्यक्षले नै अनुगमन र सुपरीवेक्षण गर्ने हुनाले कसरी अनियमितता हुन्छ भनी प्रश्न गर्दै उनले भने, ‘समितिको नियमन र अनुगमन गर्ने अधिकार उहाँलाई छ, परीक्षा कस्तो बनाउने भन्ने उहाँकै विषय हो ।’

प्रतिष्ठानको नियमावलीमा शिक्षाध्यक्ष नै समितिको अध्यक्ष हुनुपर्छ भन्ने व्यवस्था नभएको रौनियारको भनाइ छ । शिक्षाध्यक्ष, रजिष्टार तथा पूर्व पदाधिकारीको व्यवहार शङ्कास्पद भएका कारण आफूले डिनलाई शिक्षाध्यक्ष बनाएको उनको भनाइ छ ।

‘म प्रतिष्ठानका हिजोका विकृतिहरू हटाउन चाहन्छु । प्रतिष्ठानकै नियम र परिधिभित्र बसेर मैले समिति बनाएको हो,’ प्राडा रौनियारले भने, ‘अब मन्त्रालयको पत्रकै आधारमा समिति भङ्ग गर्ने र प्रवेश परीक्षा रोक्ने अवस्था छैन । यस्तो हुँदैन पनि ।’

पूर्व पदाधिकारीहरूले प्रवेश परीक्षा दिने विद्यार्थीसँग लाखौँ रुपैयाँ मागेको अडियो रेकर्डसहितका उजुरीहरू अख्तियारमा छन् । अख्तियारले यो सब विषयमा छानबिन गरिरहेको छ ।

रौनियार भन्छन्, ‘यही अवस्थामा म पुरानै शैलीबाट काम गर्न उचित देख्दिनँ । त्यसैले प्रतिष्ठानको अधिकार क्षेत्रभित्र रहेर मैले स्वविवेकले निर्णय गरेर समिति बनाएको छु । यहाँ शिक्षाध्यक्षलाई बाइपास गरेको छैन उहाँलाई झन् जिम्मेवार बनाइएको छ ।’

प्रतिष्ठान स्रोतका अनुसार पूर्व उपकुलपति बीपी दासले विद्यार्थीसँग मोटो रकम माग गरेको पिषयमा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । स्रोत भन्छ, ‘पूर्व उपकुलपति बीपी दास अहिले पनि शिक्षाध्यक्ष गुरु खनाललाई प्रयोग गरेर हाबी हुन खोजिरहेका छन् । त्यसकै प्रतिक्रियाको रूपमा मन्त्रालयको पत्र आएको हो ।’

यसअघि प्रतिष्ठानका उपकुलपति राजकुमार रौनियारलाई पदबाट बर्खास्त गर्न गैरकानुनी बाटो अबलम्बन गरेका शिक्षाध्यक्षलाई उपकुलपतिले सजिलै विश्वास गर्ने वातावरण पनि नभएको स्रोतको दाबी छ ।

शिक्षाध्यक्ष प्राडा गुरु खनालले रजिष्टार तुलबहादुर श्रेष्ठ र पूर्व उपकुलपति बीपी दाससँग निकट रहेर प्रतिष्ठानमा गतिविधि गर्ने गरेको बुझाइ कर्मचारी वृत्तमा पनि भएको स्रोतको भनाइ छ । रेक्टर प्राडा गुरु खनाल भने उपकुलपतिले अहिले गरेको काम नियम विपरीत र परिपाटी विपरीत भएको बताउँछन् । ‘मैले नियुक्तिका लागि सिफारिश गरेको जुनियर व्यक्तिलाई मभन्दा माथि राख्नुको उद्देश्य ठीक छै्रन,’ खनालले भने, ‘यो विधि र परिपाटीसङ्गत छैन ।’ अनुगमन र नियमन गर्ने विषयले त्यति अर्थ नराख्ने उनको भनाइ छ ।