बेलबारीः बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले एक सामाजिक संस्थालाई ८ बिघा जग्गा दिने घोषणा गरेका छन् । जनयुद्ध प्रतिष्ठान नेपाललाई उनले बेलबारी बजार नजिकै रहेको सो जग्गा दिने घोषणा गरेका हुन् ।
जनयुद्ध प्रतिष्ठान नेपालले जग्गा उपलब्ध गराए विभिन्न कालखण्डमा भएका जनयुद्धलाई समेटेर सङ्ग्रहालय, शैक्षिक गतविधि, स्वास्थ्यसम्बन्धी गतिविधि, पार्क तथा अन्य रोजगारमूलक कार्यक्रम गर्ने भनी बेलबारी नगरपालिकालाई पत्र पठाएपछि मेयर सुवेदीले आफ्नै जग्गा दिने घोषणा गरेका हुन् ।
बेलवारी नगरकार्यपालिकाको जेठ ३० गतेको बैठकमा उनले सो जग्गा दिने घोषणा नै गरेका छन् । कार्यपालिकाको बैठकले मेयर सुवेदीले गरेको काम प्रशंसायोग्य भन्दै निर्णय नै गरिएको नगरपालिकाका प्रवत्ता योगेन्द्र सुवेदीले बताए । सो जग्गाको मूल्य ८ करोड रुपैयाँ पर्ने बताइएको छ ।
‘हामी समृद्ध बेलबारीको योजना अगाडि बढाइरहेका छौँ’, मेयर सुवेदीले भने, ‘त्यसका लागि जग्गा दिएको हुँ ।’ आफ्नो गाउँ बनाउनका लागि जग्गा दिएको उनले बताए ।
‘समृद्धिको सपना देख्नेले अरुबाट भन्दा पनि आफूबाट त्यो यात्रा थाल्नुपर्छ’, मेयर सुवेदीले भने, ‘नगरको विकासका लागि जहिल्यै पनि म लागिपर्छु ।’ बेलबारीमा सरकारी तथा अन्य कार्यालय ल्याउँदा ठूलो सङ्घर्ष गरेको सम्झँदै उनले भने, ‘अहिले त्यस्तो छैन ।’
सो जग्गा प्राप्त भएपछि यसै आर्थिक वर्षमै डीपीआर तयार गरी केही कामको थालनी गर्ने जनयुद्ध प्रतिष्ठान नेपालका अध्यक्ष सावित्रीकुमार काफ्लेले बताए ।
‘सङ्घीय, प्रदेश तथा स्थानीय सरकारसँग छलफल भइरहेको छ’, अध्यक्ष काफ्लेले भने, ‘बेलबारीको स्थानीय सरकारको प्रमुखले जग्गा नै दिनुभयो ।’ उनले बजारको नजिकै उक्त जग्गा प्राप्त भएकाले गरिबी निवारणका कार्यक्रम गर्न समेत सकिने बताए । मेयर सुवेदीले यसअघि बेलबारी नगरपालिकाको भवन बनाउन ८ बिघा जग्गा दिने घोषणा गरेका थिए तर सो स्थानमा राजनीतिक सहमति नजुटेपछि भवन अन्यत्र बनेको हो ।