इटहरीः नेपाली काङ्ग्रेसका नेताहरूले लोकतन्त्र र प्रेस स्वतन्त्रताका ग्यारेन्टी काङ्ग्रेसले मात्र गर्न सक्ने बताएका छन् । नेपाल प्रेस युनियन सुनसरी शाखाले अयोजना गरेको संवाद कार्यक्रममा बोल्दै नेताहरूले सो कुरा बताएका हुन् ।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री महेश आचार्यले अहिले प्रेसमाथि भइरहेको हमला काङ्ग्रेसलाई अमान्य हुने बताए । काङ्ग्रेस कमजोर भएको अवस्थामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको उनको आरोप छ ।
नेपाली काङ्ग्रेसको इतिहास नै लोकतन्त्र र प्रेस स्वतन्त्रतासँग जोडिएकाले त्यसको ग्यारेन्टी काङ्ग्रेसले मात्र गर्न सक्ने उनको भनाइ छ । पूर्व अर्थमन्त्री समेत रहेका आचार्यले यो सरकारले खर्च गर्ने क्षमता देखाउन नसकेको बताए । अहिले अर्थतन्त्र डमाडोल बन्दै गएको र वित्तीय असन्तुलन मौलाएको उनको बुझाइ छ ।
मौद्रिक तरलताको अभावमा बैंकमा पैसा नभएको र बैंकले पनि ऋण दिन सक्ने अवस्था नरहेको उनको भनाइ छ । यो सबै समस्याको जड सरकारले पैसा खर्च गर्ने क्षमता देखाउन नसक्नु रहेको उनी बताउँछन् । ‘खासमा भन्ने हो भने यो संरचनागत समस्या हो’, उनले भने, अहिले सरकारमा राजनीतिक संस्कार नहुनु र लगानी सम्मेलन लगायत महत्वपूर्ण काममा विपक्षीलाई बायस गर्नुले समस्या झनै मौलाएको हो ।’
राष्ट्रिय जागरण अभियानको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा उनले जागरण अभियान फलदायी भएको बताए । सुनसरी प्रतिनिधिको रूपमा आएका उनले सुनसरीमा काङ्ग्रेसको जनमत हेर्दा काङ्ग्रेसले अब पुनर्जीवन पाउने धारणा राखे ।
प्रतिनिधि सभा सदस्य सीताराम मेहताले प्रेस युनियन र नेपाली काङ्ग्रेसबीच अझ सुमधुर सम्बन्ध बनाउँदै लैजानुपर्ने धारणा राखे । युनियनले कार्यालय स्थापना गर्ने भए आफू १० देखि १५ लाखसम्म सहयोग गर्न तयार रहेको उनले बताए । यो समय प्रेसमाथि आक्रमण भइरहेको समय भएकाले अब सबैले चनाखो भएर काम गर्नुपर्ने उनको बुझाइ छ । पत्रकारले अलोचना गर्ने र टिप्पणी गर्ने अधिकार भएकाले नेपाली काङ्ग्रेसलाई पनि अलोचना गरी दुर्घटनाबाट बचाउने योगदान दिनुपर्ने उनले बताए ।
त्यस्तै, नेपाली काङ्ग्रेस प्रदेश सभाका संसदीय दलका नेता राजीव कोइरालाले यो सरकार प्रेसप्रति असहिष्णु तरिकाले प्रस्तुत भएको बताए । काङ्ग्रेस सुनसरी सभापतिसमेत रहेका उनले काङ्ग्रेस र प्रेसबीच अझ मजबुत सम्बन्ध बनाउन लागि पर्नुपर्ने धारणा राखे ।
इटहरी नगर सभापति हेमकर्ण पौडेलले इटहरीमा मेयरले गरेको पत्रकारमाथिको आक्रमण निन्दनीय रहेको धारणा राखे । नेपाली काङ्गे्रस सधँै लोकतन्त्र, सामाजिक न्याय, प्रेस स्वतन्त्रता र मानवअधिकारको पक्षमा रहेकाले त्यसविरुद्धमा भएका गतिविधिप्रति खबरदारी गरिरहने उनले बताए ।
कार्यक्रममा पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष अमर खड्काले पार्टीको अलोचना गर्दैमा पार्टीविरोधी भयो भन्ने बुझाइ हटाउन आग्रह गरे । पार्टी र पेशा फरक विषय भएकाले पत्रकारले स्वतन्त्रपूर्वक लेख्न पाउने अधिकारको ग्यारेन्टी हुनुपर्ने धारणा उनले राखे ।
कार्यक्रममा युनियनका सुनसरी सभापति धनबहादुर पुरीले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले निर्भयपूर्ण वातावरणमा कलम चलाउन पाउनुपर्ने अवस्था हराउँदै गएको बताए ।