धरानः ‘मेरो स्वास्थ्य मेरो अधिकार’ भन्ने नाराका साथ धरानको प्रतिष्ठित शैक्षिक प्रतिष्ठान स्टार वल्र्ड एकेडेमी र धरान इन्टरनेशनल कलेजले सन्तुलित भोजन सम्बन्धी सचेतनात्मक अभियान थालेका छन् ।
केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा पोषण (न्युट्रिसन) विषय अध्ययन गर्ने विद्यार्थीहरूको प्राविधिक समन्वयमा कार्यक्रम आयोजना गरिएको हो ।

केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा न्युट्रिसन विषयमा अध्ययनरत विद्यार्थीको साझा संस्थाको रूपमा रहेको नेपाल पोषण तथा आहारविहार विद्यार्थी समाजले खानपानको विषयमा जानकारी गराउने उद्देश्यले विद्यालयमा सचेतना अभियानअन्तर्गत यो कार्यक्रम गरेको स्टार वल्र्ड एकेडेमीका म्यानेजिङ डाइरेक्टर कैलाश सुब्बाले जानकारी दिए ।

arena tv add

अहिलेका टिनएजर्समा खानपानबारे खासै चासो नभएको र विद्यार्थीले यस्तो कुराको ज्ञान पाऊन् भन्दै कार्यक्रम राखिएको उनले जानकारी दिए ।

कार्यक्रममा विद्यार्थीको तौल र उचाइअनुसार मोटोपन कति छ र स्वस्थ खानपान कसरी अवलम्बन गर्ने भन्ने बारेमा जानकारी गराइएको विद्यार्थी रामप्रसाद तिवारीले जानकारी दिए । हात्तीसार क्याम्पसका स्ववियु सभापति सौरभ सञ्जेलले यस्तो कार्यक्रमले टिनएजर्स विद्यार्थीलाई फाइदा पुगेको बताए ।

आयोजक संस्थाका सीईओ दीपक श्रेष्ठले यस्तो कार्यक्रम विद्यार्थीका लागि फाइदाजनक भएको भन्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई अघि बढाइने बताए । ‘मेरो स्वास्थ्य मेरो अधिकार’ भन्ने मूल नाराका साथ शुरू गरिएको सचेतनामूलक अभियान चलिरहने विद्यार्थी बताउँछन् ।

क्याम्पसमा अध्यनरत पोषण विज्ञानका विद्यार्थीले व्यावहारिक ज्ञान दिने गरेका छन् । पोषण विज्ञान पढाइ हुने नेपालको एक्लो क्याम्पस हात्तीसार क्याम्पस हो ।