धनकुटाः धनकुटाको चौबिसे गाउँपालिकाले आफ्नो क्षेत्राधिकारभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका पाठ्यपुस्तकमा एकरूपता कायम गरेको छ ।

शैक्षिक उपलब्धी अभिवृद्धि र परीक्षा तथा मूल्याङ्कन प्रणालीमा एकरूपता कायम गर्ने उद्देश्यसहित चालु शैक्षिक सत्रदेखि लागू हुने गरी विद्यालयहरूका पाठ्यपुस्तकमा एकरूपता कायम गरिएको हो । चौबिसे गाउँपालिकामा ४४ वटा सामुदायिक र ६ वटा संस्थागत गरी ५० ओटा विद्यालय सञ्चालित छन् । पाठ्यपुस्तकमा एकरूपता भएपछि मूल्याङ्कन तथा गुणस्तरमा एकरूपता हुने गाउँपालिका अध्यक्ष खजिन्द्र राईले जनाए ।

अहिले गाउँपालिकाभित्रका सबै विद्यालयमा सरकारले निर्दिष्ट गरेको पाठ्यक्रमअनुसार पढाइ भइरहेको छ । विद्यालयहरूले नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम अनुसारका पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री मात्रै प्रयोग गर्न पाउनेछन् ।

arena tv add

‘गाउँपालिकाभरि सञ्चालित विद्यालयमा धेरै किसिमका तथा फरकफरक पुस्तकहरू पढाइ हुन्थ्यो,’ उनले भने ‘जसले गर्दा परीक्षा लिन र प्रश्नपत्र बनाउन गाह्रो भएको थियो ।’ पाठ्यपुस्तकमा एकरूपता कायम गर्न गत शैक्षिक सत्रको अन्त्यमा चौबिसे गाउँ शिक्षा समितिका सदस्य भक्तबहादुर सुब्बाको संयोजकत्वमा ९ सदस्यीय पाठ्यपुस्तक सिफारिश कार्यदल गठन गरिएको थियो । सो समितिले तयार पारेको प्रतिवेदनअनुसार चालु शैक्षिक सत्रदेखि लागू हुने गरी पाठ्यपुस्तकमा एकरूपता कायम गरिएको हो ।

पाठ्यपुस्तकमा एकरूपता कायम भएपछि अहिले गाउँपालिकाभित्रका सबै (सामुदायिक तथा निजी) विद्यालयमा सरकारले निर्दिष्ट गरेको पाठ्यक्रम अनुसार पढाइ भइरहेको चौबिसे गाउँपालिका शिक्षा शाखा प्रमुख देवीबहादुर श्रेष्ठले जनाए । विद्यालयहरूले नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम अनुसारका पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री मात्रै प्रयोग गर्न पाउनेछन् । नेपाली वा अङ्ग्रेजी मध्ये कुनै एक भाषामा अध्यापन गराउन सक्नेछन् ।