उर्लाबारीः मोरङको मिक्लाजुङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।
गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रमका सहभागीले सडक, विद्युत, खोला तटबन्ध, प्राकृतिक स्रोतको दोहनलगायतका विषयमा प्रश्न गरेका थिए । उनीहरूले गाउँपालिकाले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको समेत गुनासो गरे ।
कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै वडा नं. ६ का अध्यक्ष वृद्धिलाल निरौलाले जनताको असीमित आवश्यकतालाई क्रमशः पूरा गर्दै लैजाने बताए । गाउँपालिकाबाट विनियोजन भएको ४५ लाख रुपैयाँ बजेटको अधिकांश काम पूरा भइसकेको र केही पूरा हुने तरखरमा रहेको उनले जानकारी दिए । उनका अनुसार ९५ प्रतिशत योजनामा काम सम्पन्न भएको छ । खोलाको समस्या जटिल रहेको उल्लेख गर्दै आफूले जनताको हितबाहेक केही नसोचेको उनले प्रष्ट पारे ।
त्यस्तै, वडा नं. ७ का अध्यक्ष सुशीलराज चौहानले विकास निर्माणका कार्यलाई प्राथमिकताका साथ अघि बढाइरहेको बताए । वडा नं. ८ का अध्यक्ष नवीन कार्कीले वडाबासीको चाहना बमोजिमका कार्यलाई पहिलो प्राथमितामा राखेर अघि बढिरहेको उल्लेख गरे ।
‘आफूहरू जनताबाट निर्वाचित जनप्रतिनिधि भएकाले जनताको चाहनाअनुसार हामीले काम गरेका छौँ’, उनले भने, ‘सीमित स्रोतसाधनलाई प्रयोग गरेर अधिक काम गर्ने प्रयास गरेका छौं ।’
त्यस्तै, वडा नं. ९ का अध्यक्ष सोमनाथ अधिकारीले वडाको विकास निर्माण तीव्र गतिमा अघि बढाएको बताए । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सरला राईले समृद्ध, विकास र सुशासनलाई आत्मसात गरी अघि बढिरहेको बताइन् । मिक्लाजुङको विकासमा गाउँपालिका सक्रियपूर्वक लागि परेको उनको भनाइ थियो ।
त्यस्तै, गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले मोरङ जिल्लाकै ‘कर्णाली’ मिक्लाजुङ गाउँपालिका रहेको बताए । उनले गाउँपालिकाले विकासमा कसैलाई काखा र पाखा नगरेको उल्लेख गर्दै सबैको सुझावलाई मनन गर्दै अघि बढ्ने बताए ।