उर्लाबारीः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता रुपेश खतिवडाले मोरङको उर्लाबारी–८ स्थित अरनिको माध्यमिक विद्यालयका १० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन् ।
नेता खतिवडाले एक कार्यक्रमका बीच ती विद्यार्थीलाई विद्यालय पोशाक र शैक्षिक सामग्री प्रदान गरेका हुन् । सोही विद्यालयका पूर्व विद्यार्थी खतिवडाले गत वर्षदेखि जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको विद्यालयका प्रधानाध्यापक कोमलप्रसाद खतिवडाले जानकारी दिए । नेता खतिवडाले आफूले अध्ययन गरेको विद्यालयका विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप वार्षिक रूपमा सहयोग गर्ने बताए । सामुदायिक विद्यालयको गुणस्तर सुधारमा जोड दिँदै नेता खतिवडाले विद्यालयको विकासमा आफू सहयोगी बन्ने प्रतिबद्धता जाहेर गरे । आगामी बर्षभित्रै अक्षयकोष खडा गर्ने पनि उनले बताए ।
सोही अवसरमा विद्यालयले उर्लाबारी नगरपालिकास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । जसमा उर्लाबारी–८ को लक्ष्मी माध्यमिक विद्यालय पहिलो भयो । त्यस्तै, उर्लाबारी–६ को राधिका मावि दोस्रो र उर्लाबारी–२ को सुनपकुवा मावि तेस्रो भएका थिए । उनीहरूलाई शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरियो ।
त्यस्तै, विद्यालयले कक्षामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई समेत पुरस्कृत गरेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष रुद्र लिम्बूको सभापतित्वमा भएको थियो ।