बेलबारीः मोरङको सुन्दरहरैचा ३ गछिया चोक छेउमा सवारी दुर्घटनामा परी १ जना महिलाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा पश्चिमतिर गइरहेको को २२ प २४४८ नम्बरको स्कुटरलाई सोही दिशातर्फ गइरहेको को २ च १८६१ नम्बरको पिक अप भ्यानले ठक्कर दिएको थियो ।
ठक्करपछि स्कुटर अनियन्त्रित भई विपरीत दिशाबाट आइरहेको को १ ख ३५०५ नम्बरको टाटा सुमोमा ठोक्किएको थियो । स्कुटरमा सवार तिनै जना घाइते भएपछि उपचारका क्रममा पथरीशनिश्चरे–८ की यमुना बास्तोलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख रामकुमार राईले बताए ।
प्रहरीका अनुसार स्कुटर चालक नानुमाया लिम्बू र उनका छोरा रोबिन लिम्बूको नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचार भइरहेको छ । दुर्घटना भएका सवारी साधन तथा चालक प्रहरी नियन्त्रणमा रहेको राईले बताए ।