ताप्लेजुङः सामाजिक कार्यमा सक्रिय रहँदै आएको संस्था सोसियल युथ गाइजले फुङलिङ नगरपालिकाको बजार क्षेत्रमा फूलसहितका गमला वितरण गरेको छ ।
बजार क्षेत्रको वातावरणलाई स्वच्छ र सुन्दर राख्ने उद्देश्यसहित फुङलिङ नगरपालिकासँगको सहकार्यमा ८० वटा गमला वितरण गरिएको हो । सदरमुकामस्थित वीरेन्द्र चोकमा आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख छत्रपति प्याकुरेलले गमला वितरण कार्यको शुभारम्भ गरेका थिए ।
करिब ३ लाख १८ हजार रुपैयाँको लागतमा गमला वितरण गरिएको युथ गाइजका अध्यक्ष लीलाराज पौडेलले बताए ।
वितरण गरिएका गमलाको व्यवस्थापनमा समेत आफ्नो संस्थाले नियमन गर्ने उनको भनाइ छ । यसले नगरपालिकाको स्मार्ट सिटी बनाउने योजनामा समेत सघाउ पुग्ने जनाए । यता, नगरप्रमुख छत्रपति प्याकुरेलले युथ गाइजले नगर क्षेत्रको सरसफाइलगायत सामाजिक कार्यमा सक्रियता बढाएकोमा सो कार्यको प्रशंसा गरे ।