इटहरीः प्रदेश नम्बर को नामाङ्कन र स्थायी राजधानीको विषयमा काङ्ग्रेसको आधिकारिक धारणा बाहिर नआइरहेको अवस्थामा केही सांसदले भने खुलेर बोल्न शुरु गरेका छन् ।
काङ्ग्रेसको स्पष्ट धारणा तय भएको छः तबदार
मोरङको क्षेत्र नम्बर ६ बाट विजयी प्रदेश सांसद चुमनाराण तबदार नेपाली काङ्ग्रेसले आफ्नो धारणा स्पष्ट पारिसकेको बताउँछन् । काङ्ग्रेसको तर्फबाट राजधानी र नामको विषयमा कुनै अवरोध नभएको उनको भनाइ छ । तर सरकारले नै यस विषयमा आफ्नो धारणा सार्वजनिक गर्न नसकेका कारण समस्या भएको उनको भनाइ छ ।
भौगोलिक र पर्यावरणीय दृष्टिले धरान उपयुक्तः श्रेष्ठ
तर, सुनसरीका अर्का सांसद चन्द्रप्रसाद श्रेष्ठ भने धरान नै प्रदेश १ को स्थायी राजधानी हुनुपर्ने तर्क गर्छन् । भौगोलिक तथा पर्यावरणीय हिसाबले पनि धरान उपयुक्त भएकाले धरान नै राजधानी हुनुपर्ने उनी बताउँछन् । विराटनगर औद्योगिक क्षेत्र भएको र भारतीय सीमानजिकै भएकाले राजधानीको लागि उपयुक्त नभएको उनको भनाइ छ ।
प्रदेशका जनताको हित हुने गरी तोकिनुपर्छः राई
मो रङ ३ का सांसद सूयर्माराज राईको भने फरक धारणा छ । राजधानी र नामाङ्कन त्यति धेरै गम्भीर विषय नभएकाले यस्ता विषय राजनीतिक छलफलको माध्यमबाट समाधान गर्न सकिने उनको भनाइ छ । राजधानी र नामको विषयमा कुनै विवाद गर्न जरुरी नरहेको उनी बताउँछन् ।
‘राजधानी जहाँ भए पनि र नाम जे भए पनि प्रदेशको विकासमा कुनै असर नपर्ने भएकाले प्रदेश नं १ का जनताको हितमा हुने गरी राजधानी तोकिनुपर्छ,’ उनी भन्छन्, ‘पहिचानको विषयमा भएका आन्दोलनलाई सम्बोधन गर्ने गरी कुनै सभ्यताबाट नामाङ्कन गर्न सकिन्छ ।’
राजनीतिक लक्ष्य र उपलब्धि हासिल गर्न नाम र राजधानीभन्दा पनि विकासको योजना ठूलो भएको उनको भनाइ छ । प्रदेश १ का जनताको पहिचानको प्रतिनिधित्व गर्ने नाम हुनुपर्ने उनी बताउँछन् । कसैले जित्ने र हार्ने भन्दा पनि सबैले जित्ने गरी निर्णय गरिनुपर्ने उनको भनाइ छ ।
सरकार उदासीन, प्रतिपक्षी गतिहीनः सङ्ग्रौला
सांसद लोकप्रसाद सङ्ग्रौला भने प्रदेशको नाम र राजधानीको विषयमा सरकार पक्षबाट प्रस्ताव आएपछि मात्र काङ्ग्रेसले धारणा बनाउने बताउँछन् । ‘अहिलेसम्म सरकार के कारणले मौन बसिरहेको हो थाहा छैन’, उनी भन्छन्, ‘तर हरेक निर्णयमा सरकारले उदासीनता देखाइरहेको छ । जसको कारण प्रतिपक्षी पनि चलायमान हुन सकिरहेको छैन ।’
समय आएपछि धारणा सार्वजनिक हुन्छः कोइराला
प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइराला सरकारले संसदमा बिजनेस दिन नसकेका कारण यस्तो भएको बताउँछन् । नेपाली काङ्ग्रेसले हतारमा निर्णय गरेर पछुताउने काम नगर्ने हुँदा समय आएपछि काङ्ग्रेसले आफ्नो धारणा सार्वजनिक गर्ने उनको भनाइ छ ।
साना दलहरूले आआफ्ना धारणा सार्वजनिक गर्दै गर्दा काङ्ग्रेस भने सरकारको प्रस्ताव पर्खिएर बसेको बताइन्छ ।