पथरीः मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्वर २ मा रहेको सुन्दर सामुदायिक वन क्षेत्रमा सोमबार दिउँसो मृत अवस्थामा भेटिएका व्यक्तिको पहिचान खुलेको छ ।
मोरङको रतुवामाई नगरपालिका वडा नम्वर ५ वस्ने ७१ वर्षीय प्रेमप्रसाद न्यौपानेको शव रहेको उनले लगाएको कपडाको आधारमा उनको परिवारले पहिचान गरेको प्रहरीले जनाएको छ ।
विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि उनको परिवार घटनास्थलमै आएर मृतकले लगाएको कपडाको आधारमा शवको पहिचान गरेको प्रहरीले जनाएको छ ।
न्यौपाने गत जेठ २८ गते बिहानदेखि सम्पर्कविहीन भएको परिवारले जनाएको छ । प्रहरीका अनुसार सोमवार नै उनका आफन्त आई उनले लगाएको कपडाको आधारमा पहिचान गरेको र थप कुरा उनको पोष्टमार्टम रिपोर्टपछि आउनेछ ।