धरानः उद्यमी महिलाहरूको उत्पादन प्रवद्र्धन तथा बजारीकरण गर्ने उद्देश्यले धरानमा तीन दिने तीज विशेष महिला उद्यमी मेला लाग्ने भएको छ ।
भदौ १७ गतेदेखि धरान १० स्थित सैनिक भवनमा महिला सञ्जाल धरानको आयोजनामा मेला लाग्ने भएको हो । आयोजकले पत्रकार सम्मेलन गरी जनाएअनुसार स्थानीयस्तरमा उत्पादन गरेका सामग्री तथा वस्तुहरू स्टलमा राखिने भएको छ । १३ वटा स्टल बुक भइसकेको सञ्जालले जनाएको छ ।
हिंसा अन्त्यका साथै अन्यायमा परेका महिलाहरूलाई न्याय दिलाउन पहल गर्नुका साथै महिलाहरूलाई आत्मनिर्भर हुन र सम्मानजनक जीवनयापन गर्न सक्ने अवस्था सिर्जना गर्न मेला आयोजन ागर्न लागेको सञ्जालकी अध्यक्ष सबिता राईले बताइन् । उद्यमी महिलाहरूलाई प्रर्वद्धन तथा प्रोत्साहन गर्न मेला सहायक हुने उनको भनाइ थियो ।
‘आर्थिक समृद्धिका लागि’ भन्ने नारा दिइएको उद्यमी मेला तीजलाई फरक शैलीमा मनाउने उद्देश्यले पनि आयोजना गरिएको सञ्जालकी वरिष्ठ उपाध्यक्ष चेतना श्रेङले बताइन् । तीजमा नाचगान गर्ने र खानपान गर्ने मात्र चलन रहेकाले यस वर्षदेखि सञ्जालले उद्यमशील महिलाहरूलाई प्रोत्साहन गर्ने कार्यक्रम शुरु गरेको उनले बताइन् ।
मेलामा घरेलु तथा हस्तकलाका सामग्रीका साथै तीजमा चाहिने मेकअपका सामान र उद्यमी महिलाले तयार पारेका शृङ्गारका सामान रहने उनले जानकारी दिइन् । मेलामा उद्यमी महिला र व्यवसायीहरूबीचमा अन्तक्र्रिया पनि हुने आयोजकको भनाइ छ । मेलामा २० वटा स्टल हुनेछन् । उद्यमशील महिलाहरूलाई प्रोत्साहन गर्ने उद्देश्य भएकाले स्टलको शुल्क १ दिनको ५ सय मात्र लिइने आयोजकले जनाएको छ ।
दिदीबहिनीहरूले उत्पादन गरेका हस्तकलाका सामग्रीहरू, विशेष गरी तीजका सामग्री, जुत्ता चप्पल, साडी, कुर्ता, हाते झोलाहरू, अर्गानिक तरकारी, खाजाका परिकारहरू र खाद्य सामग्रीको स्टल रहने कोषाध्यक्ष लहरू जिमीले बताइन् । आफूलाई चाहिने सामान त्यहीँको स्टलहरूबाट किन्ने र महिला उद्यमीहरूलाई प्रोत्साहन गर्ने अवसर पनि मेलाले जुटाउने उनले बताइन् ।
स्थानीय वस्तुको पहिचान गराउन, घरेलु तथा साना उद्योग सामग्री प्रदर्शन गर्न, अनुभव सिकाइ आदानप्रदान गर्न मेला सहयोगी हुने आयोजकले जनाएको छ । दिदीबहिनीहरूको तीज विशेष नृत्य पनि प्रस्तुत गरिने सचिव कोपिला भट्टराईले बताइन् । भड्किलो तरिकाले तीज मनाइने संस्कारको अन्त्य गर्न मेला आयोजना गरेको उनले बताइन् ।
आयोजकले मेलामा ५ लाख ३० हजार खर्च हुने अनुमान गरेको जनाएको छ । खर्चको लागि सामाजिक विकास मन्त्रालय, प्रदेश सरकारसँग ३ लाख, धरान उपमहानगरपालिकासँग १ लाख प्रस्ताव पठाइएको सञ्जालले जनाएको छ । सुनसरी उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग कार्यालय, लक्ष्मी बैंक, मितेरी बैंकसँग पनि सहयोग रकम माग गरिएको आयोजकले जनाएको छ ।