धनकुटाः धनकुटाको पाख्रीबास नगरपालिकाले बस्ती बीचको सार्वजनिक जग्गामा ढुङ्गा उत्खनन गर्न स्वीकृति दिएपछि सो क्षेत्रका स्थानीय विरोधमा उत्रिएका छन् ।
सो नगरपालिकाको वडा नं ५ घोर्लिखर्कस्थित डिकुरे र खाल्डेका स्थानीय बासिन्दासँग आवश्याक समन्वय र छलफल नै नगरी शिकारीडाँडामा ठेक्का मार्फत ढुङ्गा उत्खनन गर्ने कार्य शुरु गरेपछि गाउँ जोखिममा परेको भन्दै स्थानीयले विरोध गरेका हुन् । उत्खनन भएको क्षेत्रभन्दा माथिका करीब ३० तथा उत्खनन् क्षेत्र भन्दा तलको दलित बस्ती पहिरोको कारण विस्थापित हुने खतरामा पुगेको स्थानीयको गुनासो छ ।
स्थानीयवासीसँग आवश्यक छलफल र समन्वय नगरी एक्लौटी ढङ्गले सार्वजनिक स्थलमा ढुङ्गा उत्खनन गर्न ठेक्का दिएर दलित बस्ती विस्थापित गराउन खोजिएको आरोप स्थानीयले लगाएका छन् । स्काभेटर आएर खन्न थालेपछि मात्र उत्खनन् कार्य शुरु भएको आफूहरूले थाहा पाएको स्थानीय मानबहादुर बिश्वकर्माले जनाए ।
नगरपालिकाले प्रारम्भिक वातावरण परीक्षण प्रतिवेदन तयार गरेर सोही प्रतिवेदनको आधारमा उत्खनन कार्य शुरु गरेको जनाएको छ । तर नगरपालिकाले त्यस बारेमा आफूहरूसँग कुनै सरसल्लाह नै नगरेको उनले बताए । ‘सो जग्गाको सँधियार म हँु तर मलाई आजसम्म कसैले यस बारेमा केही सोधेको छैन’, बिश्वकर्माले भने ।
सो क्षेत्रमा ढुङ्गा निकाल्न डोजर प्रयोग भएपछि दलित बस्ती जोखिममा परेको भनी नगर प्रमुख र वडाध्यक्ष गोपाल थापासँंग मौखिक जानकारी गराए पनि बेवास्ता गरेको स्थानीय कुमार बिकले बताएका छन् । स्थानीयवासीले हारगुहार माग्दा उल्टै वडाध्यक्ष र नगरप्रमुखले ‘हामीले प्रक्रिया पूरा गरेर काम जिम्मा दिएका छाँै, जेजे गर्नुपर्छ गर’ भन्ने जवाफ दिएको उनीहरूले बताए ।
उत्खनन गरिएको क्षेत्र बस्तीको बीचमा रहेको छ । तल्लो क्षेत्रमा हिले–भोजपुर सडक खण्ड समेत पर्दछ । माथि गरिएको उत्खनन्का कारण सो सडकलाइ समेत असर पुग्ने स्थानीय बताउँछन् । बर्खा लागेपछि पानीसँगै पहिरो समेत खस्ने खतरा बढेकाले सडकसँगै गाउँ नै जोखिममा परेको स्थानीय सूर्यबहादुर सार्कीले जानकारी दिए । आफैँले चुनेका जनप्रतिनिधिले आफ्नो हितविपरीत काम गरेको भन्दै उनीहरू रुष्ट बनेका छन् ।
यता, पाख्रीबास नगरपालिकाका नगरप्रमुख विर्षबहादुर राईले भने प्रारम्भिक वातावरण परीक्षण प्रतिवेदनको आधारमा उत्खनन् कार्य गर्न ठेक्का लगाएको जनाए । ‘प्रतिवेदनको आधारमा १२ हजार घनमिटर उत्खनन गर्न मिल्छ’ उनले भने, ‘तर हामिले ४ हजार घन मिटर मात्र निकाल्न अनुमति दिएका छौँ ।’
स्थानीय तहले न्याय नदिएको भन्दै अदालतमा मुद्दा
स्थानीय तहबाट न्याय नपाएको भन्दै उपचार खोजीमा स्थानीय अदालतसम्म पुगेका छन् । उनीहरूले उच्च अदालत विराटनगरको धनकुटा इजालसमा बुधवार मुद्दासमेत दायर गरेका छन् । पाख्रीबास नगरपालिका कार्यालयका नगर प्रमुख विर्षबहादुर राई, वडा नं.५ को कार्यालय र वडा नं. ५ का वडाध्यक्ष गोपालबहादुर थापालाई विपक्षी बनाई स्थानीय पीडित परिवारको तर्फबाट कुलबहादुर र मानबहादुर बिश्वकर्माले उच्च अदालत धनकुटा इजालासमा मुद्दा दायर गरेका हुन् ।