इटहरीः इटहरी स्थानीय सरकारले पत्रकार महासङ्घ सुनसरीलाई भवन निर्माणार्थ जग्गा उपलब्ध गराउने बताएको छ । इटहरी–५ मा रहेको करीब ३० धुर सार्वजनिक जग्गा पत्रकार महासङ्घलाई उपलब्ध गराउने स्थानीय सरकारले बताएको छ ।

धरानमा मुख्य कार्यालय र इनरुवामा सम्पर्क कार्यालय भएको पत्रकार महासङ्घ सुनसरीको नयाँ सम्पर्क कार्यालय स्थापनाको लागि जग्गा दिइएको उपमेयर लक्ष्मी गौतमले बताइन् । यो वर्ष जग्गाको घेराबारा र अर्को वर्षबाट भवन बनाउन बजेट समेत प्रदान गर्ने मेयर द्वारिकलाल चौधरीले प्रतिबद्धता गरेका छन् ।

भवनको लागि आवश्यक पर्ने ढुङ्गा समेत दिने मेयरले आश्वासन दिएका छन् भने केही व्यापारीसँग इँटा र सिमेन्ट पनि मागिदिने बताएका छन् । पत्रकार महासङ्घ सुनसरी अध्यक्ष अमर खड्का, सचिव हिमाल दाहाल, उपमेयर लक्ष्मी गौतम लगायतसँगै बसेर पत्रकार सम्मेलन गर्दै मेयर चौधरीले यस्तो बताएका हुन् ।

पत्रकार महासङ्घको भवन निर्माणको लागि जग्गा उपलब्ध गराएको भन्दै पत्रकार सम्मेलनमा बोल्दै महासङ्घ अध्यक्ष खड्काले स्थानीय सरकारलाई धन्यवाद दिँदै जग्गा पाउनु ऐतिहासिक दिन भएको बताए ।
पत्रकार महासङ्घलाई सार्वजनिक जग्गाको भोगाधिकार गर्नको लागि सङ्घीय सरकारसँग स्थानीय सरकारको तर्फबाट माग गरिएको उपमेयर लक्ष्मी गौतमले बताइन् ।

एकतर्फ सार्वजनिक जग्गामा बनेको पार्टी कार्यालयदेखी व्यक्ति तथा विद्यालय भत्काउनु भन्ने र अर्कोतर्फ पत्रकार महासङ्घको भवन बनाउन सार्वजनिक जग्गा नै दिइएको भन्दै आलोचना पनि भएको छ । सार्वजनिक जग्गाका संरचना भत्काउने कुरा गर्ने अनि आफैँ संरचना बनाउन जग्गा दिने कुरा परस्पर विरोधी भएको आलोचकहरूको भनाइ छ ।