धरानः नेपाल पत्रकार महासङ्घ सुनसरीले संसदमा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता लिन दबावका लागि धरानस्थित घण्टाघर परिसर (भानुचोक) मा हस्ताक्षर सङ्कलन अभियान चलाएको छ ।
विधेयक फिर्ता लिन माग गर्दै महासङ्घले दबाबमूलक आन्दोलनका कार्यक्रमहरु गर्दै आएको छ । यसअघि देशभरका पत्रकारहरुले धर्ना दिनुका साथै हातमा कालो पट्टी बाँध्ने जस्ता दबाबमूलक कार्यक्रम गर्दै आएका थिए ।
अभियानमा पत्रकारसहित सर्वसाधारणले पनि हस्ताक्षर गरेर साथ दिएका छन् । सरकारले अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउन खोजेको भन्दै देशभरका पत्रकार आन्दोलित बन्नुपरेको अग्रज पत्रकार हर्ष सुब्बाले बताए ।
‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी विधयेक संसदमा दर्ता गरिएको छ, तत्कालै उक्त विधयेक फिर्ता लिनुपर्ने हाम्रो माग हो ।’ हस्ताक्षर अभियानको कतिपय सर्वसाधारणले चासोका साथ हेरेका थिए ।