विराटनगरः बुधबार राति परेको वर्षाका कारण सुनसरी–मोरङ औद्योगिक क्षेत्रका उद्योग र विराटनगरका विभिन्न क्षेत्रका घर डुबानमा परेका छन् ।
राति परेको अविरल वर्षापछि जमेको पानीको निकास हुन नसक्दा सोही पानी जम्नाले डुबान भएको हो ।
मोरङको बुढीगङ्गा गाउँपालिका अन्तर्गतको टङ्कीसिनुवारीका स्थानीय भवानीप्रसाद ओझाका अनुसार टङ्कीसिनुवारीको आरती स्ट्रिप्ससहित आसपासका दर्जनौं घर डुबानमा परेका छन् ।
‘घरभित्र पानी पसेर धेरैको बिजोग भएको छ,’ उनले भने, ‘घरभित्रका सामान जोगाउन धौधौ भएको छ ।’
६ लेनको बाटोले निम्त्यायो समस्या
बुधबार राति परेको पानी बगेर जाने ठाउँ नहुनाले डुबानको समस्या आएको स्थानीय बताउँछन् । आकाशबाट परेको पानी बगेर जाने निकास नहुँदा टङ्कीसिनुवारी लगायत अन्य स्थानका सडकभन्दा होचो क्षेत्र डुबानमा परेको हो ।
सडक निर्माणको क्रममा पानीको निकास हुने स्थानको ख्याल नगरी निर्माण सामग्री राख्नाले र माटो थुपार्नाले समस्या निम्तिएको ओझाले बताए ।
पूर्ण विवरण आइसकेको छैन
यसैबीच, वर्षाले कति घर तथा उद्योग डुबानमा परे भन्ने पूर्ण विवरण आइनसकेको उद्योग सङ्गठन मोरङले जनाएको छ ।
सङ्गठनका उपाध्यक्ष राकेश सुरानाका अनुसार क्षतिको विवरण र डुबानमा परेका उद्योगको विवरण लिने क्रम जारी छ । आरती स्ट्रिप्समा डुबानले बढी असर पारेको जानकारी आए पनि विस्तृत विवरण भने आउन बाँकी रहेको उनले बताए । ६ लेन सडक बिस्तारको क्रममा नाली पुरिनाले पानी निकास हुन नपाउँदा डुबान भएको उनले बताए ।
कटहरी र टङ्कीसिनुवारीमा बढी डुबान
सुरानाका अनुसार कटहरी र टङ्कीसिनुवारी क्षेत्रका घर र उद्योग बढी मात्रामा डुबानमा परेका छन् । ‘अहिले प्रारम्भिक तथ्याङ्क लिन क्रम शुरु भएको छ,’ सुरानाले भने, ‘कटहरी क्षेत्रका उद्योगमा बढी डुबान भएको छ । धेरै फ्याक्ट्रीमा पानी पसेको छ । उद्योगका प्लान्टहरू बन्द भएका छन् ।’