धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियारले एमबीबीएस पढ्ने विद्यार्थीको लागि सिट सङ्ख्या बढाइदिन माग गरेका छन् ।
२ सय ५० जना विद्यार्थी पढाउन सक्ने क्षमता भएको प्रतिष्ठानमा १ सय जना विद्यार्थी मात्र पढाउन पाउने गरी कोटा तोकिएपछि उनले सिट सङ्ख्या बढाइदिन माग गरेका हुन् । बुधबार संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिको बैठकमा उपकुलपति प्राडा रौनियारले प्रतिष्ठानमा एमबीबीएसको सिट सङ्ख्या २ सय ५० पु¥याउन माग गरेका हुन् ।
चिकित्सा शिक्षा ऐन आउनुभन्दा अगाडि प्रतिष्ठानमा १ सय ५० सिटमा विद्यार्थीहरू भर्ना हुने गरेका थिए । ऐन आएपछि प्रतिष्ठानमा एमबीबीएस पढ्ने विद्यार्थीहरूको कोटा १ सय ५० बाट १ सयमा झारिएको थियो ।
बैठकमा उपसमिति सदस्य उमेश श्रेष्ठले सक्षम मेडिकल कलेजहरूका हकमा सिट सङ्ख्या बढाउनु उपयुक्त हुने सुझाव दिएका छन् । उनले सक्षम मेडिकल कलेजहरूलाई सिट सङ्ख्या बढाएर पढाउन दिए एमबीबीएस पढ्न विदेश जाने विद्यार्थीको सङ्ख्या घट्ने उनको भनाइ छ ।