इटहरीः छापा र अनलाइन मिडियामा काम गर्ने अधिकांश सम्पादक ३५ वर्षभन्दा माथिका छन् । अर्थात् कमैमात्र युवा पुस्ताका सम्पादकहरू मूलधारका अखबार र अनलाइन मिडियामा सम्पादकको रूपमा छन् । तर, पछिल्लो समयमा प्रदेश १ का मूलधारका मानिएका अखबार र अनलाइनहरूमा क्रमशः युवा पुस्ताका सम्पादकहरूको उपस्थिति देखिन थालेको छ ।
प्रदेश १ को ४ पेजको नागरिक दैनिकको ‘नागरिक पूर्वेली’ देखि धरानबाट प्रकाशित मोफसलको ठूलो आकारको पहिलो रङ्गीन दैनिक ब्लाष्टको सम्पादकमा पनि युवा पुस्ताको उपस्थिति बलियो छ । चलेका अन्य केही अनलाइनहरूमा पनि युवा सम्पादकहरू भरिभराउ हुन थालेका छन् । प्रस्तुत छ तिनै युवा पुस्तका ५ जना सम्पादकको सामान्य जानकारी ।

यी हुन् प्रदेश १ का ३५ वर्ष मुुनिका ५ जना सम्पादकहरूः

Raju Adhikari

राजु अधिकारी

प्रदेश सम्पादक, नागरिक पूर्वेली
सुदूर पूर्व नेपालको मेचीनगरमा जन्मिएका राजु अधिकारी राष्ट्रिय छापा मिडियामा प्रदेश सम्पादकको रूपमा रहेका सबैभन्दा कान्छा सम्पादक हुन् । १५ वर्ष अगाडिदेखि उनी पत्रकारितामा सक्रिय छन् । उनले स्थानीय पत्रिका, रेडियोदेखि राष्ट्रिय मिडियासम्ममा कामको अनुभव लिएका छन् । नागरिक दैनिकको प्रदेश सम्पादकको जिम्मेवार भूमिकामा आउनुअगाडि अधिकारी झापाका जनसंसद र विवेचना दैनिकका कार्यकारी सम्पादकको रूपमा रहेका थिए
मानविकी सङ्कायमा स्नातक सकेका अधिकारीले २०७३ सालमा नागरिक दैनिकको स्टार पर्फमर अवार्ड पाएका थिए । उनले एसिया मिडिया फोरमबाट उत्कृष्ट स्टोरी राइटर अवार्ड लगायत धेरै पुरस्कार र सम्मान हात पारेका छन् ।
औपचारिक अध्ययन नै नेपाली भाषमा गरेका अधिकारीको भाषामा बलियो पकड भएको उनको भाषिक अध्ययनलाई नजिकबाट चिन्नेहरू बताउँछन् ।

 

Bhojraj Shrestha भोजराज श्रेष्ठ 

कार्यकारी सम्पादक, ब्लास्ट टाइम्स दैनिक धरान
धरानको औजार दैनिकको संवाददाता हुँदै सम्पादक भएका श्रेष्ठ औजारपछि ब्लाष्ट टाइम्स दैनिकमा पनि रिपोर्टर हुँदै गत जेठ १५ गतेदेखि भने कार्यकारी सम्पादक भएका छन् । खेलकुद रिपोर्टिङ र वातावरणसम्बन्धी लेखनमा दख्खल राख्ने पत्रकार भनेर चिनिएका श्रेष्ठ फिचर लेखनमा पनि अब्बल छन् ।


११ वर्ष अगाडि पत्रकारिता शुरु गरेका श्रेष्ठले राजधानी दैनिकको कतार संस्करण रहेको साप्ताहिक पत्रिकाबाट पत्रकारिता शुरु गरेका थिए । उनले खबर कागज साप्ताहिक र पथरीको मोफसल साप्ताहिकमा पनि काम गरेको अनुभव बोकेका छन् ।

 

 

 

Narendra Basnet

नरेन्द्र बस्नेत

सम्पादक, बेतना दैनिक, बेलबारी
बेलबारीबाट प्रकाशित बेतना दैनिकका सम्पादक नरेन्द्र बस्नेत इटहरीको पूर्वेली न्यूज डट कमका पनि सम्पादक हुन् । रेडियो, टेलिभिजनदेखि अखबार हुँदै अनलाइनसम्म सबै क्षेत्रका मिडियामा काम गरेको अनुभव छ बस्नेतसँग । उनीसँग एरिना टेलिभिजनको कार्यक्रम निर्देशक तथा निर्माताको अनुभव पनि छ । संयन्त्र साप्ताहिक र कन्दरा द्वैमासिक साहित्यिक पत्रिकाको पनि उनी सम्पादक भइसकेका छन् ।
बस्नेत कान्तिपुर साप्ताहिक र रातोपाटी डटकममा समेत केही समय जोडिएका थिए । रेडियो सुसेलीको समाचार प्रमुख समेत भएका बस्नेत मोफसलमा रहेका मिडियामा काम गरेर उदाएका युवा सम्पादक हुन् । उनी सम्पादक भए पनि रिपोर्टिङको लागि आफैं फिल्डमा पुग्छन् ।

 

Yogesh Babu Kafle

योगेशबाबु काफ्ले

कार्यकारी सम्पादक, ब्लाष्ट खबर डट कम
२०५९ सालमा बालपत्रिका ‘हाम्रो साथी’मा पत्रकारको रूपमा मिडियामा प्रवेश गरेका काफ्ले धरानकै एक्सन टाइम्स, मर्निङ टाइम्स हुँदै ब्लाष्ट टाइम्स दैनिकमा प्रवेश गरेका हुन् । ब्लाष्ट टाइम्स दैनिकका समाचार प्रमुख रहेका काफ्ले हाल ब्लाष्टकै समूहले सञ्चालन गरेको अनलाइन संस्करण ब्लाष्ट खबर डट कममा २०७४ सालदेखि कार्यकारी सम्पादक छन् । अपराध, भ्रष्टाचार र राजनीति काफ्लेले सबैभन्दा धेरै विषय उठान गर्ने क्षेत्र हुन् ।
काफ्ले स्थानीय सरकार धरानको प्रेस संयोजक पनि छन् । एकातिर सरकारी संस्थाको प्रेस संयोजक त अर्कोतिर स्वतन्त्र पत्रकारको रूपमा कुनै मिडियामा कार्यकारी सम्पादक र समाचार सम्पादकको भूमिकामा उनी छन् । यसो गर्न सकिन्छ भन्ने प्रश्नमा काफ्ले भन्छन्, ‘सकिन्छ ।’ आफू समाचार कक्षमा स्वतन्त्र पत्रकार र स्थानीय सरकारका काममा प्रेस संयोजकको भूमिकामा हुने उनी बताउँछन् । समाचार भावना र सूत्रमा होइन तथ्य र आविष्कारमा हुनुपर्ने काफ्लेको तर्क छ ।

 

Nawaraj Kattel

नवराज कट्टेल

सम्पादक, पहिलो किताब डट कम
हक्की स्वभावका पत्रकार नवराज कट्टेलको पत्रकारिताको प्रारम्भ माओवादीकालीन युद्ध पत्रकारिताबाट शुरु भएको हो उनी माओवादी लडाकु हुँदैदेखि पत्रकारितामा लागेका हुन् । २०६० सालबाट तत्कालीन माओवादी पार्टीको इलामले प्रकाशन गर्ने ‘देउमाइ गर्जन बुलेटिन’मा उनले काम गरे । भूमिगत कालमा त्यो पत्रिकामा कट्टेल प्राविधिक र पत्रकार दुवैको भूमिकामा थिए । कट्टेलले माओवादी निकटको जनविद्रोह दैनिक र जनादेश साप्ताहिकमा पनि काम गरेका छन् ।
जनविद्रोहमा उनी २०६९ साल देखि केही समय सम्पादक पनि भएर काम गरेका छन् । युद्धकालमा लडाकु र शान्ति स्थापनापछि संवाददाता र सम्पादक हुने थोरैमा पर्छन् कट्टेल । उनी २०६७ सालदेखि गोरखापत्रको स्थापित संवाददाताको रूपमा काम गर्छन् । इटहरीको पहिलो किताब डट कमका प्रधान सम्पादक, पूर्वी बजार दैनिक र गोरखापत्रका संवाददाता कट्टेल समाचार लेखेर मासिक ५० हजारभन्दा बढी कमाउने बताउँछन् ।