धरानः नेपाल स्काउटको स्थापनाको ६८ औँ वर्षको अवसरमा धरान–१२ स्थित एम्स रोभरर रेन्जर क्रियुले धरान–८ मा रहेको ल्याबोरेटरी माविलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । एम्स एकेडेमीमा भएको कार्यक्रम एकेडेमीका प्राचार्य मित्र तामाङको सभापतित्वमा भएको थियो ।

स्काउटका जन्मदाता लर्ड वेडेन पावेल तथा लेडी वेडेन पावेलको तस्बिरमा माल्यार्पण गरी कार्यक्रमको शुरुवात गरिएको थियो । कार्यक्रममा आफूजस्तै पढ्ने बालबालिकालाई सहयोग गर्न पाउँदा खुशी लागेको सिनियर टिम मेट पूजा राईले बताइन् ।

कार्यक्रममा स्वागत मन्तव्य सन्तोष कोइरालाले राखेका थिए भने कलेजका निर्देशनक अनुप तामाङले कार्यक्रम गर्नुको औचित्य प्रकाश पारेका थिए । कार्यक्रममा शैक्षिक सामग्री बुझ्दै सधैँ यस्तै असल भावना विद्यार्थीमा मिलोस् भन्ने धारणा ल्याबोरेटरी माविका प्रधानाध्यापक एवम् रोभर लिडर शङ्कर भण्डारीले गरेका थिए ।

कार्यक्रममा रोभर लिडर सुशील राई, वराह ज्वेलरीका विशाल बराइली, जगजीवन साहलगायतको उपस्थिति थियो । कार्यक्रमको सहजीकरण क्याम्पस प्रमुख एवम् स्काउटर हेमन्त भण्डारीले गरेका थिए । सुनसरी जिल्लामा कलेज तहमा स्काउट सञ्चालन गर्ने एम्स एकेडेमी एक्लो कलेज रहेको क्याम्पस प्रमुख भण्डारीले बताए ।