धनकुटाः धनकुटाका सातै स्थानीय तहमा रहेका विपन्न परिवारलाई परिचयपत्र वितरणको तयारी शुरु गरेको छ ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले परिचयपत्र वितरण गर्ने तयारी गरेको हो । जसको लागि धनकुटाका सबै स्थानीय तहमा साउन महिनाबाट गरीब परिवार पहिचानका लागि सुपरीवेक्षक र गणक खटाउने तयारी गरेको छ । खटिएको टोलीले तयार गरेको तथ्याङ्कको आधारमा परिचयपत्र दिइने छ ।

राज्यबाट प्रदान हुने सेवामा विपन्न वर्गको पहुँच स्थापित गर्नका लागि विपन्न घरपरिवार पहिचान गर्न लागिएको जिल्ला समन्वय समिति धनकुटाले जनाएको छ । यसका लागि सबै स्थानीय तहमा सुपरीवेक्षक र गणक नियुक्तिको प्रक्रियामा गएका छन् । विपन्न परिवार पहिचानका लागि धनकुटा नगरपालिकामा १ जना सुपरीवेक्षक र ९ जना गणक खटिनेछन् ।

यस्तै पाख्रीबास र महालक्ष्मी नगरपालिकामा सुपरीवेक्षकसहित १० जना गणक परिचालित हुने छन् । शहीदभूमि, छथर जोरपाटी र चौबिसे गाउँपालिकामा १२ जना गणक र ३ जना सुपरीवेक्षक खटिनेछन् भने साँगुरीगढी गाउँपालिकामा सुपरीवेक्षक र ५ जना गणक रहने बताइएको छ । सबै स्थानीय तहले असार १६ गतेभित्र सुपरीवेक्षक र गणकहरू छनोट गरी पठाइसक्नुपर्ने जिल्ला समन्वय समिति प्रमुख टङ्क चौहानले जनाए । गणकहरूले ५ महिनामा काम सक्नुपर्ने बताइएको छ ।