तस्बिरः श्रीशिसा राई

धरानः सुन्दर पहाडी जिल्ला भोजपुरको सिन्द्राङ क्षेत्रमा पहिलोपटक पुग्ने जो कोही त्यहाँको मनमोहक सौन्दर्यबाट नलोभिने कुरै छैन । ठूलठूला चट्टान झुन्डिएका अद्भूत पहरा र वरपर घना जङ्गल । आधुनिक समयका मानिसको मन लोभ्याउन यति नै पर्याप्त छ तर सिन्द्राङमा यति मात्र छैन ।

arena tv add

हो, भोजपुरको हतुवागढी गाउँपालिका–३ मा पर्ने सिन्द्राङमा पर्यटकको मन लोभ्याउने धेरै वस्तु छन् । यो क्षेत्रलाई प्रकृतिले नै फुर्सदको समयमा निकै मिहिनेत गरेर बनाएको भान हुन्छ । वैशाख जेठमा पनि भुइँकुहिरोमा लुक्ने यो क्षेत्र सुन्दर त छँदैछ, यसको महत्त्वलाई बढाउन प्रकृतिले थप वरदान दिएको छ ।

तिनैमध्ये एक हो, सयवृक्षे । सङ्खाम भीरको फेदीमा रहेको यो अजङ्गको रुख हजारौँ वर्ष पुरानो भएको भएको कुरा बाउबाजेले बताउने गरेको हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले सुनाए । यसको आयुबारे वैज्ञानिक अध्ययन हुनुपर्ने उनको भनाइ छ । वरपर यति ठूलो रुख अरू छैन । स्थानीयले जिउनी भन्ने यस रुखको विशेषता के हो भने यस रुखका हाँगाहरूमा अन्य विभिन्न प्रजातिका रुखहरू उम्रिएका छन् । एउटै रुखमा सय थरीका रुख भएको विश्वासमा यसको नाम सयवृक्षे राखिएको गाउँपालिका अध्यक्ष राईले बताए । ‘सयथरी त होइन’ उनले भने, ‘१५–२० थरीका रुख भने छन् ।’

अन्य कुनकुन प्रजातिका रुख छन् र ती कसरी त्यहाँ उम्रिए भन्ने पनि अध्ययनको विषय हुन सक्ने हतुवागढी–८ का वडा सदस्य विश्वजीत राई बताउँछन् । सो रुख भीरमा भए पनि स्थानीयले अहिले त्यहाँसम्म पुग्ने बाटो खनेका छन् ।

हतुवागढी–४ को फलामढुङ्गाबाट झण्डै ३ किलोमिटर पश्चिमदक्षिणमा पर्ने यो पर्यटकीय सम्भावना बोकेको ठाउँ हो । सङ्खामभन्दा माथिल्लोपट्टिको भीरमा अजम्बरी बुटी रहेको विश्वास स्थानीयमा भएको वडा सदस्य राईले सुनाए । कला साहित्य महोत्सवमा सहभागी हुन त्यहाँ पुगेका धनकुटाका पत्रकार तथा कवि रमेशचन्द्र अधिकारीले यो ठाउँ आफूलाई निकै सुन्दर लागेको बताए ।

त्यहाँबाट लगभग ७ सय मिटर पर पूर्णे डाँडा छ, जहाँ गाउँपालिकाले दिमालुङ पार्क बनाउने योजना अघि सारेको छ । राई भाषामा ‘दिमा’ भनेको बज्यै र ‘लुङ’ भनेको ढुङ्गा हो । त्यहाँ एउटा ढुङ्गा छ । त्यसैको नामबाट पार्कको नामकरण गरिएको हो ।

गाउँपालिका अध्यक्ष राईले अब सो स्थानमा योजनाबद्ध विकास गरिने जनाए । पर्यटकहरूलाई आकर्षित गर्न पार्कलाई सुन्दर बनाइने उनले बताए । पार्क निर्माणका लागि आवश्यक क्षेत्रमा पर्खाल पनि लगाइसकिएको छ ।

गाउँपालिका अध्यक्ष राईले आफ्नो ठाउँको विकासका लागि स्थानीय नागरिक एक हुनुपर्ने बताए । उनले हतुवागढीमा जन्मिएर कामका सिलसिलामा देशविदेशमा पुगेका हतुवालीलाई पनि आफ्नो जन्मभूमिको विकासमा योगदान गर्न आह्वान गरे । ‘गफ मात्र गरेर हुँदैन’, उनले भने, ’आउनुस्, सहकार्य गरौँ ।’

तस्बिरःनगेन्द्र राई

saya briksha tasbir nagendra rai