भोजपुरः भोजपुरको विकट पौवादुङमा गाउँपालिकाले डिप बोरिङमार्फत् पानी निकाली वितरण गर्ने काम शुरु गरेको छ । १ सय १० मिटर डिप बोरिङ गरेर निकालिएको पानी वितरण गर्ने काम अगाडि बढेको छ । पौवादुङ्मा गाउँपालिकाले स्थानीयको पानीको समस्या समाधान गर्न करीब ३९ लाख रुपैयाँ लागतमा डिप बोरिङ गरेर पानी निकालेको हो ।
पानीको मुहान सुकेर गाउँमा पानीको अभाव भएपछि गाउँपालिकाले पहिलो पटक यस्तो प्रविधिबाट पानी निकालेको हो । यसअघि पानीको जोहो गर्न ४ घण्टा हिँड्नुपर्ने अवस्था थियो ।
झापाको मेची कन्ट्रक्सनले वडा नम्बर ३ र ४ चारको सिमानामा रहेको चाम्ताङ भन्ने स्थानमा ८ दिन लगाएर पानी निकालेको हो । बोरिङ गाडेको स्थानभन्दा १ सय मिटर माथि लगेर ट्याङ्की निर्माण गरी पानी वितरण गरिने गाउँपालिकाले जनाएको छ । अन्य दुई ओटा ठूला खानेपानी आयोजनाको पनि काम भइरहेको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताए ।
गाउँपालिकामा पानीको समस्या समाधानका लागि हरेक घरमा धारा पु¥याउने लक्ष्यका साथ काम थालिएको उनको भनाइ छ । यसले पानीको अत्यन्तै समस्या रहेको सुख्खाग्रस्त क्षेत्रका नागरिकलाई राहत पुग्ने उनको विश्वास छ । अब पाइपलाइन विस्तार गरेर तुरुन्तै बस्तीमा पानी वितरण थालिने अध्यक्ष राईको भनाइ छ ।