फाइल तस्बिर
बेलबारीः प्रदेश नम्बर १ को सडक सुशासनको काम शुरु हुने भएको छ । आर्थिक वर्ष ०७५÷०७६ को प्रदेशको नीति तथा कार्यक्रममा घोषणा गरिएको कार्यक्रम शुरु गर्न अध्ययन शुरु गरिएको छ । सुनसरीको रामधुनी नगरपालिकामा पर्ने झुम्कादेखि मोरङको बेलबारीसम्म सो कार्यक्रम गर्न अध्ययन गर्न थालिएको छ ।
सुनसरीका झुम्का र इटहरी, मोरङका सुन्दरहरैंचा र बेलबारी लगायतका क्षेत्रमा यही आर्थिक वर्षदेखि काम थालिने भौतिक पूर्वाधार विकास मन्त्रालय महाशाखका प्रमुख रेवतीरमण निरौलाले जानकारी दिए । उनका अनुसार सो कार्यक्रममा सडकमा भत्केका संरचना निर्माण, सडकमा छाडा छोडिने पशुका लागि काञ्जीहाउसको निर्माण, सार्वजनिक शौचालय, तथा आकाशे पुल निर्माण गरिने छ ।
‘बाटो क्रस गर्ने र भीड हुने ठाउँमा अकाशेपुल निर्माण हुन्छ’, निरौलाले भने, ‘साँघुरो सडकमा आवतजावतमा समस्या हुने गरेकाले पहिलो चरणमा सुशासनका लागि विभिन्न कार्यक्रम थालिएको हो ।’ उनले दोस्रो चरणमा बजार क्षेत्रमा ६ लेन तथा सडक, जङ्गल र मानव बस्ती कम भएको क्षेत्रमा चार लेनको सडक बनाउने बताए ।
पर्यटकीय क्षेत्रसँग जोडिएको बेलबारीको बेतना, सिर्जना पार्क तथा खुला चिडियाखाना लगायतका क्षेत्रमा विशेष प्राथमिकता दिएर काम गरिने उनले बताए । ‘पर्यटकीय क्षेत्रमा पनि धेरै सडकजाम हुन्छ’, उनले भने, ‘त्यस्ता क्षेत्रमा ट्राफिक लाइटको व्यवस्था गर्छाँै ।’
उनका अनुसार प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ट्राफिक प्रहरी, स्थानीय तहका प्रमुख उपप्रमुख र भौतिक पूर्वाधार विकास मन्त्रालयसँग छलफल गरिसकेको छ । सडक सुशासन आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कार्यक्रम रहेको जनाइएको छ ।
बसपार्कसँगै जोडिएका केही स्थानीय बजारलाई समेत प्राथमिकतामा राखेर कार्यक्रम गरिने प्रमुख निरौलाले बताए । पर्यटकीय क्षेत्रसँगै रहेको स्थानीय बजारलाई प्रवद्र्धन गर्न हाटबजारका संरचना समेत निर्माण गरिने उनले बताए ।
झुम्कादेखि बेतना सिमसार क्षेत्रसम्म मात्रै सडक सुशासन कार्यक्रम गर्ने प्रदेश सरकारको नीतिमा रहे पनि बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदीले आफ्नो नगर क्षेत्रमा पर्यटकीय क्षेत्र समेत रहेकाले चिसाङ खोलासम्म नै उक्त कार्यक्रम लागू गर्न प्रदेश सरकारलाई आग्रह गरेका थिए ।