ताप्लेजुङः झण्डै एक सातादेखि पहिरोका कारण अवरुद्ध बनेको ताप्लेजुङको सिरिजंघा गाउँपालिकाको सडक खुलेको छ । गाउँपालिकाको स्काभेटरको सहायताले पहिरो पन्छाएर बाटो खुलाइएको गाउँपालिकाका अध्यक्ष टिक गुरुङले बताए ।

साविकको सिनाम र आम्बेगुदिन गाविसलाई जोड्ने नेबु खोला नजिकै माथिबाट झरेको पहिरोले गत आइतबार रातीदेखि सडक अवरुद्ध बनेको थियो । सडक खुलेसँगै गाउँपालिकाको केन्द्र तेल्लोकसम्म नै सवारी साधन पुग्न थालेका छन् ।

वर्षाका कारण पहिरो झरेर सडक अवरुद्ध हुँदा याम्फुदिन, मामांखे, खेवाङलगायतका स्थानीय बढी समस्यामा परेका थिए । उक्त सडक भएर पाँचथर, इलाम, झापा, ताप्लेजुङ सदरमुकाम फुङलिङ लगायतका ठाउँमा सवारी साधन ओहोरदोहोर गर्छन् ।