धरानः त्रिवेणी महिला समूह धरान–१५ ले त्रिवेणी मार्गको सडक किनारमा धुपीका बिरुवा रोप्ने कार्य सम्पन्न गरेको छ ।

शनिबार औपचारिक कार्यक्रम आयोजना गरी ५० वटा गमलामा धुपीका बिरुवा रोपिएको हो । धरान उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष नरेशकुमार इवारमले कार्यक्रम उद्घाटन गरेका थिए ।

महिलाहरूको नेतृत्वमा भएको कार्यक्रम उदाहरणीय भएको भन्दै आगामी दिनमा पनि यस्तै कार्यलाई निरन्तरता दिन उनले आग्रह गरे । त्रिवेणी महिला समूहले देउसीभैलो खेलेर उठेको पैसाबाट आफ्नै टोललाई हरियाली बनाउन फूल रोप्ने कार्य गरेकोमा उनले सो कार्यको प्रशंसा गरेका थिए ।

arena tv add

कार्यक्रममा बोल्दै सेवक अभियानका अभियन्ता राजीव हलुवाइले आफ्नो टोल र बस्तीमा फुलबारी हुँदा मान्छेलाई सकारात्मक प्रेरणा मिल्ने भन्दै यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरे । कोशीपत्र दैनिकका निर्देशक योगशबाबु काफ्लेले महिलाको नेतृत्वमा हुने काम कहीँ पनि असफल नभएको बताए ।

महिला नेतृ लीला राईले महिलाको अग्रसरता र समाज सुधारको चेतनाबाटमात्र परिवर्तन सम्भव भएको भन्दै सिर्जनात्मक कार्य निरन्तर गर्दै जानुपर्ने बताइन् । कार्यक्रमको अध्यक्षता त्रिवेणी महिला समूहकी अध्यक्ष विमला जबेगूले गरेकी थिइन् ।

समूहकी उपाध्यक्ष कल्पना खड्काले स्वागत मन्तव्य दिएको कार्यक्रमको सञ्चालन समूहकी सचिव भीमा खड्काले गरेकी थिइन् । कार्यक्रममा धरान १५ का विभिन्न महिला समूह, टोल सुधार समिति र उपभोक्ता समितिका प्रतिनिधिको उपस्थिति थियो ।