धरानः अमेरिकाको वेभस्टर युनिभर्सिटीको सेमीनार धरानमा सम्पन्न भएको छ । थाइल्याण्डको चाममा अवस्थित वेभस्टर युनिभर्सिटीको क्याम्पसमा पढाइ हुने ४ वर्षे ब्याचलर र थाइल्याण्डको बैंककमा पढाइ हुने मास्टर प्रोग्रामको बारेमा सेमीनारमा जानकारी गराइएको थियो ।
कार्यक्रम विजयपुर उच्च माविका पूर्व विद्यार्थी अपारदीप श्रेष्ठको अगुवाइ र वेभस्टर युनिभर्सिटी थाइल्याण्डको नेपालमा रहनुहुने अभिभावक सुनिता सिंहको सहयोगमा सम्पन्न भएको हो । सेमीनारका लागि श्रेष्ठले वेभस्टर युनिभर्सिटी थाइल्याण्डका लागि स्वयम्सेवकको रूपमा काम गरेका थिए । यससँगै उनले धरानका विद्यार्थीका लागि दैनिक जीवनमा आवश्यक शिष्टाचारको महत्वका बारेमा समेत जानकारी दिएका थिए ।
कार्यक्रममा बोल्दै संयोजक निमा दोर्जे भुटियाले धरानमा चलिरहेको शैलीभन्दा फरक तरिकाले सेमीनार आयोजना गरिएको बताए । आजकाल विद्यार्थी अन्य देशमा पढ्न जाने चलन बढेको तर त्यसको लागि परामर्श गर्ने नाममा पर्चा बाँड्ने काम मात्र हुने गरेको उनले बताए ।
कार्यक्रममा खाना खाने, टेलिफोन, बैठक, अन्तर्वार्ता र लुगा लगाउने गरी दैनिक जीवनमा उपयोगी हुने पाँच शिष्टाचारको अभिनय विजयपुर उच्च माविका विद्यार्थीले प्रस्तुत गरेका थिए ।
सेमीनारमा वेभस्टर युनिभर्सिटीका नेपालका लागि कन्ट्री म्यानेजर किरण घिमिरेले वेभस्टर युनिभर्सिटीको बारेमा जानकारी गराएका थिए । युनिभर्सिटीको ९ वटा शाखामा जहाँबाट कोर्ष पूरा गरे पनि अमेरिकन डिग्री पाइने उनले बताए । तर देशअनुसार पढाइ शुल्क भने फरक फरक रहेको उनको भनाइ थियो ।
हाल सो युनिभर्सिटी अफ्रिकाको घाना, युरोपको नेदरल्याण्ड, स्वीट्जरल्याण्ड, अष्ट्रिया, इङ्ल्याण्ड, बेलायत, ग्रीस, उज्वेकिस्तान तथा एशियाको चीन र थाइल्याण्डमा रहेको बताइएको छ ।