झापाः टोल विकास संस्थाको काम कर्तव्य र अधिकारसम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम आइतबार मेचीनगरमा सम्पन्न भएको छ ।

वडा नम्बर १३ को कार्यालय मेचीनगर झापाले चारआलीमा आयोजना गरेको कार्यक्रमको नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले उद्घाटन गरेकी थिइन् । उपप्रमुख उप्रेतीले अब हरेक ठाउँका टोल विकास संस्था चलायमान हुनुपर्ने र सङ्गठित रूपमा अघि बढ्नुपर्नेमा जोड दिइन् ।

आफ्नो ठाउँमा निर्माण भइरहेका योजना कति गुणस्तरीय छन् त्यसको रेखदेख गर्ने जिम्मा टोल वकास संस्थाको रहेको र हरेक टोलवासी सङ्गठित रूपमा अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

अहिले उपभोक्ता समिति मार्फत् हुने कार्यक्रम टोल विकास संस्थामार्फत् गराउने सोचमा स्थानीय सरकार रहेको उनको भनाइ थियो । वडाध्यक्ष कृष्णराज सिग्देलको सभापतित्वमा भएको अभिमुखीकरणमा वडाका ३९ वटा टोल विकास संस्थाबाट अध्यक्ष, सचिव र कोषाध्यक्ष सहभागी थिए ।

सहभागीलाई गैर सरकारी संस्था महासङ्घ नेपाल झापा शाखा सचिव सोमराज ढकालले प्रशिक्षण दिएका थिए । उनले टोल विकास संस्था सामुहिक विकासमा एक हुनुपर्ने भन्दै टोल विकास संस्थाका पदाधिकारीको गठन र यसको परिकल्पनाका बारेमा जानकारी गराएका थिए । टोल विकास संस्थाका २० वटा काम कर्तव्य र अधिकारका बारेमा सहभागीलाई जानकारी गराइएको थियो । कार्यक्रमको सञ्चालन वडा कार्यालयकी कर्मचारी अनिता राजवंशीले गरेकी थिइन् ।