झापाः आगामी आर्थिक वर्षका लागि झापाको मेचीनगर नगरपालिकाको वडा नम्बर ६ ले योजना तर्जुमा गोष्ठी आइतबार सम्पन्न गरेको छ ।
कार्यक्रममा सहभागी विभिन्न राजनीति दल, सङ्घ संस्थाका प्रमुख प्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारी र वडावासीले वडा कार्यालयलाई प्राथमिकताका आधारमा योजना छनोट गर्न सुझाव दिएका थिए । वडाका समस्याहरू कल्भर्ट, ड्रेन निर्माण, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा विद्युत खानेपानीलगायतका विषयलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरिएको थियो ।
अहिले विषादीको प्रयोगले मानव शरीरमा अनेक प्रकारका प्राणघातक रोग लागेका कारण वडानम्बर ६ लाई विषदीमुक्त वडा घोषणा गरी अर्गानिक खेतीतर्फ किसानलाई लाग्न अभिप्रेरित गर्नुपर्नेमा सुझाव दिएका थिए ।
वडाध्यक्ष ललितबहादुर तामाङको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन वडा सचिव शम्भु पौडेलले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य नगर सदस्य राजकुमार श्रेष्ठले राखेका थिए । कार्यक्रममा वडा नम्बर ६ का जनप्रतिनिधिहरू उपस्थित थिए ।