धरानः एक महिना देखि धरानमा प्रकोपको रूप लिएको डेंगुु रोग नियन्त्रणमा आउने क्रम जारी रहेकाे चिकित्सकले बताएका छन् । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वैशाख मसान्तामा एक स्थानीयमा डेंगुु सङ्क्रमण भएको पाइएको थियो । त्यस पछि लगातार बिरामी सङ्ख्या बढ्न थाले पछि नियन्त्रण बाहिर जाने हो की भन्ने भय उत्पन्न भएको थियो ।
जेठ मसान्त सम्म प्रतिष्ठानमा आएका १५ सय २८ बिरामीलाई जाँच्दा ६ सय ३१ डेंगुुको सङ्क्रमण भए पुष्टि भएको थियो ।
असार पहिलो साताको तथ्याङ्कअनुसार ६५ जना बिरामी मात्र डेंगु सङ्क्रमित भएको पाइएपछि करिब दश गुणाको अनुपातमा यो रोग नियन्त्रणमा आउँदै गएको देखिएको प्रतिष्ठानका असिस्टेन्ट डाइरेक्टर डाक्टर विकास शाहले जानकारी दिएका छन् ।
डेंगु नियन्त्रणका लागि धरान सरकारले प्रभावित दुई वडालाई विशेष सङ्क्रमित क्षेत्र घोषणा गरी नियन्त्रणको पहल थालेको थियो । चिकित्सक, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको टोली मिलेर पर्याप्त रेस्पोन्स टिम बनाई वडावडामा सचेतना फैल्याइएको थियो ।
मच्छडको टोकाइबाट बच्न यसको फुल तथा लार्भा नष्ट गर्ने काम भएको थियो । मच्छड प्रभावित क्षेत्रको पहिचान गरी सबै वडामा एकै पटक अभियान सञ्चालन भएको थियो ।
डेंगुुुको त्रास फैलिएपछि धरानमा सबै भन्दा बढी प्रभावित भएको क्षेत्र पर्यटन व्यवसाय हो । झन्डै एक महिना सुनसान बनेको धरानको पर्यटन उद्योगमा बिस्तारै चहलपहल आउन थालेको होटेल व्यवसायीसँगका अध्यक्ष सरोज भट्टराईले बताएका छन् ।
पानीको चरम अभावका कारण धरानमा सर्वसाधारणले संचित गरेको पानीमा डेंगु फैलाउन सक्ने लामखुट्टे हुर्किन पाएको विज्ञको निष्कर्ष थियो । धरान भौगोलिक रूपमा भिरालो भएको हुँदा आकाशबाट परेको पानी सहजै बग्ने हुनाले पनि थप जोखिम बढ्न नपाएको उनीहरूको तर्क छ ।
अहिलेसम्म फाट्टफुट्ट बिरामी आइरहेको हुँदा ढुक्क हुने अवस्था भने नभइहालेकाे र सतर्कता भने अपनाउँदै गर्नुपर्ने चिकित्सकको राय छ ।