उर्लाबारीः सामान्यतः हाम्रो समाजमा महिला र पुरुषबीच प्रेम अनि विवाह हुन्छ । महिला र पुरुष अर्थात् विपरीत लिङ्गीबीचको विवाह स्वाभाविक रूपमा लिने गरिएको छ । तर, हाम्रो समाजमा महिला र महिला बीच तथा पुरुष र पुरुषबीचको प्रेम अनि विवाहको कुरालाई अस्वाभाविक रूपमा लिने गरिएको छ ।

समलिङ्गीहरू गहिरो मायाप्रेममा पर्छन् अनि विवाह नै गर्छन् भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । झापाको अर्जुनधारा नगरपालिका–१० का २० वर्षीय रुपक गिरी र काठमाडौंका १८ वर्षीय अनुभव दर्जी समलिङ्गी हुन् । उनीहरूले डेढ वर्षअघि विवाह गरेका थिए । फेसबुकमार्फत् चिनजान भई मायाप्रेममा परेका उनीहरू एकअर्कालाई खुबै माया गर्दछन् ।

फेसबुकमै रुपकले अनुभवलाई प्रेम प्रस्ताव राखेका थिए । त्यसको केही दिनमै अनुभवले पनि रुपकको प्रेमलाई स्वीकार गरे । त्यसपछि उनीहरूबीच आत्मीयता बढ्दै गयो । निरन्तर फेसबुकमा भिडियो कल र फोन सम्पर्क भइरह्यो । २०७४ मंसिर महिनामा अनुभव रुपकलाई भेट्न झापा आए । त्यसपछि उनीहरूले एकअर्कालाई छोड्न सक्ने अवस्थामा पुगेपछि विवाह गर्ने निर्णय गरे ।

बिहेलाई अनुभवको परिवारबाट अस्वीकार
विगतलाई सम्झँदै अनुभवले भने, ‘घरपरिवारबाटै हाम्रो बिहेलाई स्वीकार गर्नुभएन । निकै दुःख लाग्यो ।’ अनुभवलाई अहिलेसम्म पनि परिवारले स्वीकार गरेको छैन । उनी भन्छन्, ‘बिहे भएदेखि म घर गएको छैन ।’
अनुभवको भन्दा रुपकको परिवार भने फरक रहेछ । रुपकको परिवारले अनुभवसँगको बिहेलाई सहर्ष स्वीकार ग¥यो । ‘परिवारको साथ र सहयोगकै कारण आज अनुभवलाई खुशीको साथ राख्न सफल भएको छु’, उनी भन्छन्, ‘हामी वैवाहिक जीवनबाट निकै खुशी छौं ।’ झापाको दमकमा घर भाडा लिएर बसिरहेका उनीहरू आफूलाई समाजले हेलाको दृष्टिले हेरेको बताउँछन्् ।

‘हामीले विवाह गरिसक्यौंँ तर, कानुनी मान्यता पाएका छैनौँ’, अनुभवले भने, ‘नेपालमा समलिङ्गी विवाहलाई कानुनी मान्यता दिनु पर्छ ।’ समाजले तेस्रो लिङ्गीहरूलाई हेर्ने दृष्टिकोण फरक भएका कारण अझैसम्म खुल्न समस्या भएको उनको भनाइ छ । नेदरल्याण्ड, बेलायत, फ्रान्स, अष्ट्रेलियालगायत देशमा तेस्रो लिङ्गी विवाहले मान्यता पाइसकेको भए पनि नेपालजस्ता धेरै देशमा भने यसले मान्यता पाउन सकेको छैन ।

सन्तानको चाहना
उनीहरूमध्ये रुपकले पति र अनुभवले पत्नीको भूमिका निर्वाह गर्ने गरेका छन् । उनीहरू भन्छन्, ‘हामी यौन जीवनबाट सन्तुष्ट छौं । पुरुष र महिलाको यौन जीवनजस्तो नहोला तर, हामी जे छौं त्यसमा पूर्ण सन्तुष्ट छौँ’ अनुभवले भने ।
आफूहरूमा सन्तानको रहर प्रशस्त रहेको उनीहरूले बताए । तर, उनीहरूले टेस्टट्युब बेवी वा अन्य प्राविधिक तरिकाले बच्चा उत्पादन गर्ने रहर व्यक्त गरेका छन् । टेस्ट ट्युब बेबी वा अन्य प्राविधिक तरिकाले बच्चा उत्पादन सम्भव नभए धर्मपुत्री, धर्मपुत्र पाल्ने इच्छा रहेको उनीहरूले बताए ।