झापाः नेकपा मेचीनगरका संसदीय दलका नेतासहित अधिकांश सदस्यले केही दिनअघि दलको तर्फबाट आयोजना गरिएको पत्रकार सम्मेलनका बारेमा आफुहरू अनभिज्ञ रहेको बताएका छन् ।
उनीहरूले विभिन्न सञ्चारमाध्यममा आएजस्तो पत्रकार सम्मेलन नेकपा मेचीनगरको संसदीय दलले आयोजना नगरेको, तथा त्यहाँ व्यक्त गरिएको धारणा संसदीय दलको नभएको बताएका छन् । पत्रकार सम्मेलनमा विकास निर्माणको बाधक नगरपालिकाका प्रमुख विमल आचार्य भएको बताइएको थियो ।
पत्रकार सम्मेलनमा दलका उपनेता टीकाराम मंग्रान्ती, नगर कार्यपालिका सदस्य निरु परियार तथा नेकपाका जिल्ला तथा नगर स्तरीय नेतृत्वको उपस्थिति थियो । तर, कार्यक्रममा संसदीय दलकी नेता तथा मेचीनगरकी उपप्रमुख मीना पोखरेल उप्रेती अनुपस्थित थिइन् ।
समाचार स्रोतका अनुसार उनलाई सो बारेमा जानकारी नै गराइएको थिएन । मंग्रान्ती नगर कार्यपालिका सदस्य तथा मेचीनगर नगरपालिकाको वन तथा वातावरण विपद् समितिका संयोजक समेत हुन् । संसदीय दलको नेतालाई जानकारी नै नगराई कसरी कार्यक्रम भयो भनी खुल्दुलीको विषय बनेको छ ।
‘संसदीय दलले आयोजना गरेको पत्रकार सम्मेलनका बारेमा संसदीय दलको नेतालाई थाहा छैन,’ दलको नेता तथा नगरपालिका उपप्रमुख उप्रेतीले भनिन्, ‘पत्रकार सम्मेलन गर्दा मलाई मात्र होइन अधिकांश दलका सदस्यहरूलाई थाहा हुनुपर्छ ।’ सञ्चारमाध्यमबाट मात्र आफूले यस विषयमा थाहा पाएको उनले बताइन् ।
आफ्नो दलले आयोजना गरेको पत्रकार सम्मेलन संसदीय दलको नेताले सञ्चारमाध्यमबाट थाहा पाउनुपर्ने भन्दैं आफू अचम्मित भएको बताइन् । मेचीनगर नगरपालिकामा नेकपाको बहुमत छ । कुल ८० जना जनप्रतिनिधिमा ५३ जना नेकपाबाट प्रतिनिधित्व गर्छन् । पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको धारणा संसदीय दलको नभएको उनको भनाइ छ ।
कार्यक्रममा सहभागी भएका भनिएका नगर परिषद सदस्य छोटबहादुर राईले आफू अन्य कामका सिलसिलामा अचानक त्यहाँ पुगेको बताए । आफूलाई पत्रकार सम्मेलन हुँदैछ, भन्ने कुरा जानकारी नभएको उनको भनाइ थियो ।