धरानः मुस्लिम महिलाहरूको सशक्तिकरणका लागि दुई दिने कार्यक्रम मङ्गलबार शुरु भएको छ ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि डा खालिद हुसैन हकले मुस्लिम महिलाहरूको सशक्तिकरणका लागि ज्ञानसँगै उनीहरूलाई आर्थिक रूपमा पनि सबल बनाउनुपर्ने धारणा राखे । यसका लागि उनीहरूलाई सीपमूलक तालीम दिनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा धरानको इन्जिनियरिङ क्याम्पसका पूर्व क्याम्पस प्रमुख जावेद आलम र मुस्लिम सेवा समितिका अध्यक्ष वसि अहमद खानले पनि धारणा राखेका थिए ।

अन्जुमन इस्लामियाले आयोजना गरेको सो कार्यक्रमका लागि धरान उपमहानगरपालिकाले सहयोग गरेको इस्लामियाका अध्यक्ष शेख युसुफ अलीले जनाए । अधिकारसँगै मुस्लिम महिलाहरूलाई सामाजिक दायित्वबोध गराउन कार्यक्रम आयोजना गरिएको सचिव अफाक अहमदले बताए ।

झण्डै सय जना महिला सहभागी कार्यक्रममा पहिलो दिन राजेश विद्रोही र तीर्थ कार्कीले सहजीकरण गरेका थिए भने दोस्रो दिन बुधबार वेणु काफ्ले र योगेशबाबु काफ्लेले सहजीकरण गर्ने अध्यक्ष युसुफले बताए ।