इटहरी/ स्थानिय सरकारले बजेट ल्याइसक्ने समयसिमाको अन्तिम दिन आज इटहरीले १ अर्ब, ८५ करोड, ५० लाखको बजेट ल्याएको छ । ७९ करोड, ४ लाख, ५५ हजार चालु खर्च र ७० लाख वित्तिय व्यवस्था खर्च तोकिएको बजेटमा पुँजीगत खर्च १ अर्ब, ५ करोड, ७५ लाख, ४५ हजार रहेको छ ।

उपमेयर लक्ष्मी गौतमले आज इटहरी उपमहानगरको सांस्कृतिक भवनमा भएको नगरसभामा उक्त बजेट प्रस्तुत गरेकि थिइन ।

इटहरीमा अनलाइनबाट घरनक्सा पास तथा एकिक्रित सम्पत्ति करको भुक्तानीको व्यवस्था, औद्योगिक ग्राम र जनजाती ग्राम स्थापना जस्ता महत्वकांक्षि कार्यक्रमहरु इटहरीले सार्वजनिक गरेको छ ।

उपमहानगरका सबै कार्यालयहरुमा सिसी क्यामेरा जडान गर्ने, बिद्युतिय टेन्डरलाइ प्रभावकारी बनाउने, हरेक वडामा हरेक बर्ष ३ सय बिरुवा रोप्ने जस्ता विभिन्न कार्यक्रमहरु बजेटमा समेटिएका छन । एक वडा एक खेल मैदान निर्माण देखी इटहरी अस्पतालमा सुत्केरी गराउन आउने महिलालाइ निशुल्क एम्बुलेन्स भाडा उपलब्ध गराउने जस्ता कार्यक्रमहरु बजेटले समेटेका छन ।

इटहरी ९ को डिभिएम स्कुल परिषरमा जनता क्रिकेट पार्क, इटहरी ५ मा काव्यबाटिका सिटी पार्क जस्ता पार्कहरु समेत निर्माण गरिने बजेटमा उल्लेख गरिएको छ ।