उर्लाबारीः मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) ले सरसफाइलाई अभियानका रूपमा सञ्चालन गर्नुपर्ने बताएका छन् ।
एभरेष्ट मल्टी टेक्निकल कलेज उर्लाबारीको बुधबार भएको दशौं वार्षिक उत्सव तथा सरसफाइ कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले आफ्नो गाउँठाउँलाई सफा र सुन्दर बनाउनु सबै नागरिकको दायित्व भएकाले सरसफाइ अभियानमा जुट्न आह्वान गरे । फोहोरमैलाका कारण विभिन्न रोगको सङ्क्रमण फैलिने खतरा रहेको उल्लेख गर्दै उनले आफ्नो घर, आँगन, गाउँ, टोल र बजारलाई सफा बनाउनुपर्नेमा जोड दिए ।
कलेजले वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्वका कार्यक्रम अघि बढाएकोमा खुशी प्रकट गर्दै आगामी दिनमा पनि रचनात्मक कार्यमा लाग्न उनले सुझाव दिए । एभरेष्टले वार्षिक उत्सवको अवसरमा उर्लाबारी चोक सफाइ कार्यक्रम गरेको छ । एभरेष्टका विद्यार्थी तथा जनपद र सशस्त्र प्रहरीको टोलीले उर्लाबारी चोकको सफाइ गरेका थिए ।
त्यस्तै, बिहीबार उर्लाबारी–७ स्थित नमूना बाल गृहलाई खाद्यान्न सहयोग गर्ने जनाइएको छ । त्यस्तै, शुक्रबार रक्तदान र शनिबार विभिन्न क्षेत्रका क्रियाशील २ सय ५० भन्दा बढीलाई सम्मान गर्दै कार्यक्रम समापन गरिने संस्थापक प्रिन्सिपल सुमन ढकालले जानकारी दिए ।