धरानः धरान उपमहानगरपालिकाको ८ नं. वडा कार्यालयको सहयोगमा टिम नेपालको आयोजनामा स्थानीय तहको योजना तर्जुमा प्रशिक्षण सम्पन्न भएको छ ।
धरान उपमहानगरपालिकालाई समृद्ध शहर बनाउन धरानका प्रत्येक वडाको योजना छनोट प्रक्रिया प्रभावकारी हुन जरुरी भएकाले तालीमको आयोजना गरिएको वडा सदस्य प्रेमबहादुर तामाङले बताए । नेपाल सरकार, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तय गरेको निर्देशिका बमोजिम तालीम आयोजना गरिएको प्रशिक्षक मोहन श्रेष्ठले बताए । विकास योजनाको अवधारणा, विकासक्रम र संवैधानिक कानुनको व्यवस्था साथै स्थानीय तहको वार्षिक योजना र बजेट आदि प्रशिक्षणको प्रमुख विषय रहेको वडाका सामाजिक परिचालक अनिता राईले बताइन् ।
वडाका विभिन्न टोल विकास संस्थाका पदाधिकारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरिएको तालीममा १५ वटा टोल किास संस्थाका ४५ जना सहभागी भएका थिए । आयोजक संस्थाका अध्यक्ष दोर्पध्वज राईका अनुसार प्रशिक्षणलाई सहभागितामूलक र प्रयोगात्मक बनाइएकोले रमाइलो वातावरणमा धेरै कुरा सहभागीले बुझ्न र सिक्न पाएका थिए ।