मोरङः ४ वर्ष अगाडिसम्मको गुमनाम मोरङको सुन्दरहरैंचामा पर्ने बलिया क्षेत्र अहिले पूर्वकै व्यस्त पर्यटकीय थलो भएको छ ।
२०७१ सालमा तत्कालीन सुन्दरदुलारीको वडा नम्बर ११ को बलियामा गोकुलम रिसोर्ट सञ्चालनमा आयो । स्थानीय राधेश्याम पौडेलले खोलेको गोकुलममा रहेका कलाकृति तथा त्यहाँ रहेको पोखरीमा सञ्चालित बोटिङले पूर्वका थुप्रै आगन्तुकलाई तान्न थाल्यो ।
पिकनिक खानेदेखि घुमघामका लागि गोकुलम आउनेको क्रम बढ्न थाल्यो । अहिले त गोकुलमबाट २ सय मिटर उत्तरमा गोकर्ण रिसोर्ट निर्माण भएसँगै बलियामा चलहपहल बढेको स्थानीय शम्भु धमलाले बताए । कुनै बेला आफ्नो घरको ठेगाना भन्नुपर्दा इटहरीपारी भन्ने गरेकोमा आजकाल गोकुलम छेउमा घर छ भन्दा सजिलै मान्छेले चिन्ने गरेको धमलाले बताए ।
‘अझ अब लाखौं रुपैयाँको लगानीमा गोकर्ण रिसोर्ट पनि सञ्चालनको क्रममा छ । यसले अझ यहाँ चहलपहल बढाउनेछ ।’ गोकर्ण रिसोर्ट अगाडि घर भएका सामाजिक अभियानकर्मी धमलाले भने, ‘पहिलेपहिले कसैले नचिन्ने हाम्रो बलिया अब पूर्वाञ्चलको ‘ठमेल’ भएको छ । यहाँ गोकुलम रिसोर्ट र गोकर्ण रिसोर्टसँगै अन्य सानातिना कटेज तथा होटल थपिने क्रम जारी छ ।’
साढे ५ बिघा क्षेत्रफलमा फैलिएको गोकुलम रिसोर्टमा दैनिक औसतमा ५ सय जना आगन्तुकहरू आउने रिसोर्टका सञ्चालकमध्येका सतिष पोखरेल बताउँछन् ।
साढे २ बिघा क्षेत्रफलको गोकर्ण रिसोर्टले पनि उत्तिकै मान्छे तान्ने कुरामा विश्वस्त छन् गोकर्ण रिसोर्टका म्यानेजर दीपक खड्का । बलियाकै प्रतिष्ठित व्यापारी रमेश आचार्यले निर्माण गरेको गोकर्ण रिसोर्टले पनि युवा तथा व्यावसायिक मानिसहरू तानिरहेको म्यानेजर खड्का बताउँछन् ।

maxresdefault
गोकुलम रिसोर्टका परिकल्पनाकार तथा सञ्चालक राधेश्याम पौडेल ६ करोडमा आफ्नो रिसोर्ट बनेको बताउँछन् । गोकर्ण रिसोर्ट १५ करोडको लगानीमा निर्माण भएको म्यानेजर खड्का बताउँछन् । ठूला लगानीका रिसोर्ट निर्माणले स्थानीय जग्गाको तथा सटरको भाउ समेत ह्वात्तै बढेको स्थानीय विमल दाहालले बताए ।
‘१ वर्ष अघिसम्म पनि हाम्रो टोलमा भित्री सडकले छोएको ठाउँमा प्रतिधुर डेढ लाखमा घडेरी आउँथ्यो । तर, अहिले ३ लाख घटीमा आउनै छाड्यो’, गोकुलम रिसोर्ट छेउमा घर भएका दाहाल भन्छन्, ‘यहाँ रिसोर्ट बनेर दैनिक सयौंको सङ्ख्यामा मान्छेको चहलपहल बढेपछि सटर भाडा पनि २ हजार ५ सयबाट ६ हजारसम्म पर्न थालेको छ ।’
सीमावर्ती शहर इटहरीमा रहेको आफ्नो ड्राइभिङ सेन्टरको फिल्ड बलिया हुँदै बग्ने बुढी खोला किनारमा सञ्चालनमा ल्याएका बाबुराम प्रधान पनि बलियामा पछिल्ला २ वर्षमा रिसोर्ट र होटल निर्माणले गर्दा परिचय नै फेरिएको बताउँछन् ।
‘पहिलेपहिले सधँै झगडाले मात्रै नाम आउने बलिया अब पर्यटकीय गन्तव्य भनेर चिनिन थालेको छ’, कोशी ड्राइभिङ सङ्घका अध्यक्षसमेत रहेका प्रधान भन्छन्, ‘पहिलेपहिले यहाँका मान्छे रमाइलो गर्न इटहरी जान्थे । अहिले इटहरीका मान्छे यता आउँछन् । निजी क्षेत्रले निर्माण गरेका पर्यटन पूर्वाधारका कारण यहाँ भीडभाड बढेको छ । घुमघाम गर्ने र पिकनिक खान आउनेहरूको भीडले बलिया क्षेत्र पूर्वको ठमेलजस्तै भएको छ ।’