इटहरीः उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचन सम्पन्न भएको छ । आज सम्पन्न निर्वाचनमा ८३ प्रतिशत मतदान भएको निर्वाचन समितिले जनाएको छ । ६ हजार १ सय मतदातामध्ये ५ हजार ६८ जनाले मतदान गरेको समितिको भनाइ छ । इटहरी उपमहानगरपालिका–५ जनता बहुमुखी क्याम्पसमा चुनावी कार्यक्रम सम्पन्न भएको हो ।
निर्वाचन समितिका संयोजक विश्व रिजालका अनुसार सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएकोहो । बिहान साढे ८ बजेदेखि शुरु हुने भनिएको निर्वाचन आधा घण्टा ढिलो शुरु भएको थियो । बिहान ढिलो शुरु भएकाले साँझ ५ बजेसम्मको लागि तोकिएको मतदान समय पनि बढाएर साढे ५ बजेसम्म पु¥याइएको थियो ।
आइतबार साँझसम्ममा मत परिणाम निकाल्ने गरी तयारी थालिएको निर्वाचन समितिका संयोजक रिजालले बताए । आइतबार बिहान ९ बजेदेखि मतगणना शुरु हुने भन्दै उनले सकेसम्म चाँडो मतपरिणाम निकाल्ने गरी काम भइरहेको बताए । उवा सङ्घको सभाहलमा हुने मतगणनामा कडा सुरक्षा व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
इटहरीमा निकै महत्वका साथ हेरिएको उवा सङ्घ निर्वाचनमा राजनीतिक प्रभाव देखिएको छ । अध्यक्षका प्रत्यासी भीमबहादुर पौडेललाई नेपाली काङ्ग्रेस र राप्रपाको साथ छ भने शैलेशकुमार बिष्ट प्यानललाई नेकपाको साथ रहेको छ । आगामी स्थानीय तहको निर्वाचनको मतसर्भेक्षणको रूपमा यो निर्वाचनलाई हेरिएको छ ।
आफ्नो कार्यकाल धेरैनै सौहार्दपूर्ण रहेको भन्दै हालका अध्यक्ष लीलम बस्नेतले आगामी समितिले उवा सङ्घलाई थप प्रभावकारी बनाउनुपर्ने बताए । पछिल्लो समय बढ्दै गएको गलत चुनावी अभ्यासले व्यापारीलाई निराश बनाउने भन्दै मर्यादित भएर काम गर्न उनले आग्रह गरे ।