बेलबारीः मोरङमा २ महिनामा ७ लाख भन्दा बढी बिरुवा रोपिने भएको छ । डिभिजन कार्यालय मोरङको तथ्याङ्कअनुसार असार र साउन महिनामा ७ लाख ४० हजार बिरुवा रोपिने भएको हो ।

राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर शनिबारदेखि बिरुवा रोप्न थालिएको हो । मोरङको बेलबारीमा रहेको लक्ष्मी सामुदायिक बन उपभोक्ता समूहबाट बिरुवा रोप्न थालिएको हो ।

राष्ट्रिय वृक्षरोपण दिवसमा बिरुवा रोप्दै प्रदेश नम्बर १ का उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियतले मसला जातको बिरुवा रोपेर उद्घाटन गरेका छन् । उद्घाटन गर्दै मन्त्री कुसियतले प्रदेश सरकारले खाली जग्गामा बिरुवा रोप्ने लक्ष्य लिएको बताए । उनले विद्यालयका चौर र अन्य खालि जग्गामा बिरुवा रोपिने बताए ।

‘नेपाल सरकारले एक घर एक बिरुवाको नीति लिएको छ’, मन्त्री कुसियतले भने, ‘प्रदेश सरकारले पनि वृक्षरोपणलाई विशेष महत्व दिएको छ । सामुदायिक बनलाई हरियाली बनाउनुपर्ने भए पनि केही सामुदायिक बनलाई भने उपभोक्ताले नै उजाडिरहेको समेत उनले बताए ।

यस्तै, बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले यो वर्ष सेक्टर बन कार्यालयसँगको सहकार्यमा १० हजार बेलका बिरुवा उत्पादन भइरहेको बताए । उनले आर्थिक वर्ष ०७६÷०७७ का लागि ५० हजार बिरुवा उत्पादन गरिने बताए । आयमूलक बिरुवा सामुदायिक तथा निजी बनहरूले रोप्नुपर्ने उनको भनाइ थियो ।

‘बेलको जुसका लागि बेलबारीमा उद्योग स्थापना गर्न हामि लागिरहेका छौँ’, मेयर सुवेदीले भने, ‘खाली जग्गामा बेल रोप्नुहोस् नगरपालिकाले आफैँ आएर फल किनिदिन्छ ।’ औषधीमा समेत प्रयोग हुने बेललाई जुस बनाएर नगरवासीलाई रोजगारी दिने लक्ष्य समेत रहेको उनले बताए ।

मोरङमा ६० हेक्टर क्षेत्रफलमा मसला, टिक, खयर, इपिलिपी, कोइराला, टाँकी, साल सतिसाल, विजयसाल, रुद्राक्ष, सिरिस, बेल लगायतका ६० प्रजातिका बिरुवा रोपिने डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले बताए ।

उनले बिरुवा माग्ने व्यक्ति तथा संस्थालाई निःशुल्क उपलब्ध गराउने पनि बताए । असार साउन दुई महिना बिरुवा रोप्ने सिजन भएको समेत उनले बताए ।

आर्थिक वर्ष ०७४÷०७५ मा १६ हेक्टरमा २५ हजार ६ सय बिरुवा रोपेको लक्ष्मी सामुदायिक वनले चालु आर्थिक वर्षमा २० दशमलव १५ हेक्टर क्षेत्रफलमा ३२ हजार बिरुवा रोप्दै छ ।

२०५८ सालदेखि ८ सय हेक्टर क्षेत्रफल उक्त सामुदायिक बनले संरक्षण गर्दै आइरहेको छ । सो बनमा हाल ४ हजार २ सय घरधुरी उपभोक्ता रहेको अध्यक्ष लोकबहादुर बस्नेतले बताए । बेलबारीका सबै सामुदायिक बनले बेलका विरुवा रोप्न थालेका छन् । लक्ष्मी सामुदायिक बनले २ महिनामा बेल र जामुनका बिरुवा रोप्न शुरु गरेको छ ।

राष्ट्रिय वृक्षरोपण दिवसकै अवसरमा युवा सङ्घ नेपाल संयुक्त कार्यदलले सिंहदेवी सामुदायिक बन उपभोक्ता समितिको खालि जग्गामा बेलका बिरुवा रोपेको छ । बेलका बिरुवा रोप्दै प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतबहादुर कार्कीले प्रदेश नम्बर १ मा पर्यटनको माध्यमबाट फड्को मार्ने बताए ।

उनले आफ्नो गाउँठाउँ र हावापानी मिल्दो बिरुवा रोपे एकै हातमा दुई वटा लड्डु हुने बताए । युवा सङ्घको केन्द्रीय निर्णयअनुसार वृक्षरोपण गरिएको केन्द्रीय लेखा समिति सदस्य राजन प्रसाईँले बताए । युवा सङ्घले मोरङमा १० हजार बिरुवा रोप्ने जनाइएको छ ।

biruwa  (1)