इटहरीः नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता घोषणा भएको ३ महिना पूरा भएको छ । पार्टी एकता घोषणाको लामो समय बितिसक्दा पनि स्थानीय तहमा एकताले औपचारिकता पाउन सकेको छैन ।
भावनात्मक रूपमा पार्टी एक भएको भनिए पनि औपचारिक अभ्यासमा भने दुई पार्टीकै हिसाबमा कार्यक्रम भइरहेका छन् । दुई पार्टी मिलेर बनेको नेपाल कम्पुनिष्ट पार्टी (नेकपा)ले पुरानो पार्टी सङ्गठन विघटन भएको घोषणा गरिसकेको छ । तर हालसम्म प्रदेश, जिल्ला, क्षेत्र र नगरस्तरका कमिटी बन्न सकेका छैनन् । जसको कारण सङ्गठन परिचालनमा समस्या परिरहेको नेकपाका नेताहरूको बुझाइ छ ।

himal subedi डम्बर सुवेदी हिमाल
पूर्व केन्द्रीय सदस्य माओवादी केन्द्र
पार्टी एकताको सन्देश हरेक जनताको मन मस्तिष्कमा पुगिसकेको छ । यो एक सामान्य घटना मात्र नभएर विश्व राजनीतिकै फरक अभ्यास हो । कम्युनिष्टहरू गुटबन्दीमा मात्र लाग्छन् भन्ने विचार बढ्दै गइरहेको बेला हामीले ऐतिहासिक अभ्यास गरेका छौ । यो २ पार्टी बिचको एकतामात्र नभएर देश बनाउने ऊर्जाशील शक्तिहरूको गठजोड हो । त्यसैले जनताको मनमा बलेको आशा र विश्वासको दियो लाई निभ्न नदिनु हाम्रो दायित्व हो । अहिले पार्टी एकताका नाममा भइरहेको ढिलासुस्तीले केही नकारात्मक सन्देश प्रवाह हुन सक्छ । यसरी नै ढिला हुँदै गयो भने विश्वास र भरोसामा कमी आउन सक्छ । अहिले पनि साङ्गठनिक गतिविधिमा केही कमी आएको छ । आशा गरौँ चाँडै नै पार्टी एकताको औपाचारिक अभ्यास शुरु हुनेछ ।

 

binod dhakal विनोद ढकाल
पूर्व मोरङ जिल्ला अध्यक्ष नेकपा एमाले

पार्टी एक भएको भन्ने सन्देश हरेक जनतामाझ पुगेको छ । अब पुरानो पार्टीको हैसियत र जिम्मेवारी भन्दा पनि नयाँ पार्टी भएपछिको आफ्नो दायित्वको विषयमा बहस शुरु भएको छ । जसले गर्दा स्वभावैले पार्टी एकतामा विश्वास गर्न सकिन्छ । तथापि औपचारिक रूपमा स्थानीय स्तर सम्म एकता हुन नसक्दा पार्टीभित्र गर्नुपर्ने सामान्य कामहरू पनि पछाडि धकेलिने गरेका छन् । संस्थागत रूपमा एकता भएको छ भनेर कार्यकर्ता पङ्क्तिमा विश्वास दिलाउनको लागि पनि चाँडोभन्दा चाँडो वडा स्तरसम्म एकताको खाँचो छ । अहिलेसम्म केही टेक्निकल समस्यामात्र छ तर यो अवधि लामो समय रहेको थप समस्या निम्तिन सक्छ ।

gagan puri रेवतराज पुरी (गगन)
पूर्व केन्द्रीय सदस्य माओवादी केन्द्र
पार्टी एकता भएपछि विश्वास र भरोसा थपिएको भन्ने कुरा निर्वाचन परिणामले स्पष्ट पारेको छ । जुन विश्वासलाई कुठाराघात गर्नुहुँदैन । त्यसैले पनि नेकपाले आगामी कार्यदिशा स्पष्ट पार्न जरुरी छ । त्यसको लागि स्थानीय तहसम्म नै पार्टी सङ्गठन बिस्तार र जिम्मेवारी बाँडफाँड गर्नुपर्ने देखिन्छ । हरेक जिल्ला र प्रदेशमा कार्यदल तयार भएर सुझाव सहित नामावली सिफारिश गर्ने काम भइरहेको छ । त्यसले केही ऊर्जा थपिएको छ । पार्टी एकता भएको लामो समयमा पनि २ पार्टी बीचमा भागबण्डा गर्ने र फरक पार्टीको जस्तो व्यवहार गर्ने पद्धतिले कार्यकर्तामा निराशा थपिन सक्छ त्यसैले बेलैमा स्थानीय तहसम्म पार्टी एकताको औपचारिक अभ्यास जरुरी देखिन्छ ।

ramprasad
रामप्रसाद चौलागाईं

पूर्व इटहरी नगर इन्चार्ज नेकपा एमाले

पार्टी एकता घोषणा भएको लामो समय बितिसक्यो तर अझैसम्म जिल्ला, क्षेत्र र नगर स्तरमा औपचारिक अभ्यास शुरु भएको छैन । जसका कारण पुराना २ पार्टी प्रतिनिधिहरूको रोहवरमा छलफल र निर्णय हुने गरेको छ । पार्टीको नेता को हो र कसको नेतृत्वमा काम कारबाही अगाडि बढाउन भन्ने बारेमा अन्योल हुने गरेको छ । जसको कारण औपचारिक कार्यक्रम गर्न समस्या परिरहेको छ । तथापि केही दिनभित्रमै स्थानीय स्तरसम्म पार्टी एक हुने भन्ने बुझिएकाले केही आशा जागेको छ ।